काठमाडौं । रोहितकुमार पौडेल र सोमपाल कामीले संयमित पारी खेलेपछि आईसीसी एकदिवशीय विश्वकप छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको छ ।

हङकङले दिएको १५४ रनको लक्ष्य पछ्याएको नेपालले ४०.४ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

जितका बाबजुत नेपालको सुपर सिक्समा पुग्ने सम्भावना भने सकिएको छ । समूह बी बाट घरेलु टोली जिम्बावे, स्कटल्याण्ड र अफगानिस्तान सुपर सिक्समा पुगेका छन् । नेपालले हङकङलाई हराएपछि सुपर सिक्समा पुग्ने तेस्रो टोलीको रुपमा अफगानिस्तानको भाग्य खुलेको हो ।

तर, जितपछि नेपाललाई एउटा फाइदा भएको छ । समूहको चौथो स्थानमा आएको नेपालले एकदिवशीय मान्यताका लागि क्रस प्लेअफ खेल्नेछ । समूह बी को चौथो स्थानमा रहेको नेपालले समूह ए को पाँचौं स्थानमा रहेको पपुवा न्यूगिनीसँग क्रस प्लेअफ खेल्नेछ ।

त्यस खेलमा विजयी भएमा नेपालले सातौं स्थानका लागि अर्को खेल खेल्नेछ । त्यही खेलको विजेताले एकदिवशीय मान्यता पाउनेछ । अर्को प्लेअफ हङकङ र नेदरल्याण्ड्सबीच हुनेछ । हङकङ समूह बीको पाँचौं र नेदरल्याण्ड्स समूह एको चौथो हुने निश्चितजस्तै भएको छ ।

हङकङले दिएको १५४ रनको लक्ष्य पछ्याएको नेपालले औसत सुरुआत गरेको थियो । पहिलो विकेटका लागि उपकप्तान ज्ञानेन्द्र मल्ल र अनिल साहले ४१ रनको साझेदारी गरेका थिए । तर, ९.५ ओभरमा अनिल व्यक्तिगत २६ रनमा आउट भए । त्यसको दुई ओभरपछि अर्का ओपनर ज्ञानेन्द्र मल्ल पनि १२ रनको स्कोरमा आउट भए ।

यसअघिका तीन खेलमा उत्कृष्ट ब्याटिङ गरेका कप्तान पारस खड्का १६.१ ओभरमा तेस्रो विकेटका रपमा ११ रनमा आउट हुँदा नेपालले ५८ रन बनाएको थियो । अर्को ओभरमा आरिफ शेख २ रनको स्कोरमा आउट भए ।

पाँचौं विकेटका रुपमा दिपेन्द्र सिंह ऐरी १९।६ ओभरमा व्यक्तिगत १२ रनमा इशान खानको बलमा आउट हुँदा नेपालको स्कोर ६६–५ भएको थियो ।

तर, छैटौं विकेटका लागि रोहितकुमार पौडेल र सोमपाल कामीले ८९ रनको शानदार साझेदारी गरेपछि नेपालले ५ विकेटको जित हासिल गरेको हो । संयमित पारी खेलेका रोहितले ८६ बलमा ६ चौकाको सहयोगमा अविजित ४८ रन बनाए । त्यस्तै सोमपालले ४० बलमा ४ चौकाको सहयोगमा ३७ रनको अविजित पारी खेले ।

यसअघि जिमबावेको बुलावायो एथ्लेटिक्स क्लवको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ४८।२ ओभरमा अलआउट हुँदै १५४ रन बनाएको थियो । हङकङका लागि ओपनर निजाकात खानले ४७ रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

आईपीएल टोली दिल्ली डेयर डेभिल्समा आवद्ध भएका नेपाल िलेगस्पिनर सन्दिप लामिछानेले आजको खेलमा शानदार प्रदर्शन गर्दै ३ विकेट लिए । १० ओभर बलिङ गरेको उनले ४ मेडन राख्दै १७ रन लिएका थिए । त्यस्तै बसन्त रेग्मीले १० ओभरमा ४ मेडन राख्दै २४ रन दिएर २ विकेट लिए ।

करण केसीले डेथ ओभरमा हङकङका पुच्छारका दुई ब्याट्सम्यानलाई आउट गरे । सोमपाल कामी र ललित राजवंशीको नाममा पनि १–१ विकेट रह्यो ।

Comments

comments