मेलवर्न । अष्ट्रेलियाको मेलबर्नमा सम्पन्न भएको ८ औं कंडेल कन्सल्टेन्सी कपको उपाधी यति फुटबल क्लबले जितेको छ। फाइनल खेलमा राइजीङ स्टारलाई १ का बिरुद्ध २ गोलले पराजित गर्दै यतिले उपाधी हात पारेको हो । यति फुटबल क्लबले गत वर्षको प्रतियोगितामा पनि उपाधि जितेको थियो।

विजेता यति फुटबल क्लबलाई नेपाली रुपैयाँ दुई लाखका साथमा थुप्रै पुरस्कार तथा ट्रफी प्रदान गरिएको छ भने उपविजेता राइजिङ स्टार क्लवले पनि नगद तथा अन्य थुप्रै पुरस्कार हात पारेको छ । प्रतियोगिताका विजयी टीमहरुलाई प्रतियोगिताका मूख्य प्रायोजक कंडेल कन्सल्टेन्ससीका प्रबन्ध निर्देशक राज कंडेलले पुरस्कार प्रदान गर्नुभएको थियो । पुरस्कार वितरण कार्यक्रममा भीक्टोरियाका रीजनल प्रहरी कमिसनरका साथै सो क्षेत्रका खेलकुद म्यानेजरको समेत सहभागिता रहेको थियो ।

अष्ट्रेलियन र नेपाली खेलाडी सहितका १६ वटा फुटबल टिम सहभागी भएको यस प्रतियोगिता हेर्न दर्शकहरु हजारौंको संख्यामा आएका थिए । प्रतियोगिता मार्च १० र ११ गरि दुई दिनसम्म चलेको थियो । उक्त प्रतियोगितालाई यति फुटबल क्लब र कंडेल कन्सल्टेन्सीको सहकार्यमा आयोजना गरिएको हो ।

कंडेल कन्सल्टेन्सीले विद्यार्थी तथा अष्ट्रेलियामा बसाइ सर्ने नेपालीहरुको लागि आफ्नो क्षेत्रको गुणस्तरीय सेवा दिनुको साथै अष्ट्रेलियामा रहेको नेपाली समुदायलाई अगाडी बढाउनको लागि यस्ता थुप्रै कार्यक्रमहरुमा प्रभावकारी भूमिका खेल्दै आएको छ। यस फुटबल प्रतियोगिताको समेत मूख्य प्रायोजन गरेको कन्सल्टेन्सीका प्रबन्ध निर्देशक राज कडेलले विजेताहरुलाई पुरस्कार वितरण गर्दै आगामी दिनमा पनि यस्तै कार्यक्रमहरुलाई सहयोग गरेर विभिन्न संघसंस्थाहरुसंग हातेमालो गर्दै नेपाली समुदायलाई अगाडी बढाउनको लागि आफू सधै तत्पर रहने बताउनुभयो ।

Comments

comments