वेश्या शब्द सुन्दा कतिलाई अपाच्य र असभ्य लाग्छ तर महिलालाई समाजले आज पनि भोग्याका रूपमा व्यवहार गरिरहेको छ। कहिलेकाहीं लाग्छ– व्यवहारका आधारमा हेर्ने हो भने त समाजमा उत्ति नै पुरुष वेश्या पनि छन् तर हाम्रो समाजमा वेश्या भन्नेबित्तिकै प्रायः सबैले स्त्री जातिलाई बुझ्छन्। पोथी वेश्या हुन्छे भने भाले वेश्या पनि अवश्य हुन्छ किनकि वेश्या भोग्ने पनि वेश्या नै हो।

मेरी साथीले मलाई बताएको एउटा कथाले समाजले राम्रो पहिरनमा सजिएर साँझबिहान हिँड्ने स्त्रीलाई पनि वेश्या देख्ने तथ्य उजागर गर्छ। मेरी साथी केहीअघि साँझको समय लाजिम्पाटबाट आफ्नो निवासतर्फ फर्कंदै रहिछन्। रत्नपार्क पुग्दा आफ्नो निवास कालिमाटी पुग्न उनले बस पाइनन्। उनले हिँडेरै कालीमाटी जाने निधो गरिछन्। त्यत्तिकैमा उनका श्रीमान्ले उनलाई फोन गरेर केहीबेर रत्नपार्कमै कुरिराख्न र आफू लिन आउने बताए। साथीका अनुसार उनी रत्नपार्कमा पाँच मिनेटजति मात्र उभिइन् तर त्यसबीचमा धेरै पुरुषले उनलाई ‘दाम कति हो ? , रेट कति हो ? ’ भन्दै उनको मोल सोधेछन्। मेरी साथीले रत्नपार्कमा उनी उभिएको त्यो पाँच मिनेट जीवनकै त्रासदपूर्ण र लामो भएको बताइन्।

लाजिम्पाट, ठमेल र दरबारमार्गका केही घरानियाँ रात्रि जीवनबाहेक आज पनि साँझ र रात भनेको छोराहरूको मात्रै हो। समाजको नजरमा बेलुका हिँड्ने छोरीचेली सबै वेश्या हुन् या वेश्याजस्तै हुन्। कति स्त्रीहरू आफैं कमाउँदै पनि उच्च शिक्षा हाँसिल गरिरहेका होलान् यो सहरमा, तिनलाई रातसाँझ हिँड्नुपर्दो हो। ती पनि मेरी साथीजस्तै ‘रेट’ को प्रश्नले बारम्बार रेटिएका होलान्। रातसाँझमा बस कुर्न उभिएका सबै पोथी जाति ‘वेश्या’ हुँदैनन् भनेर कसले बताइदिने रु दुःख त यतिखेर लाग्छ, यस्ता प्रवृत्तिविरुद्ध महिला कुनै संगठित प्रतिक्रियासमेत जनाइरहेका छैनन्।

(शनिवारको अन्नपूर्ण पोष्टमा प्रकाशित पिपला ढुङ्गानाको लेखको आंश)

Comments

comments