काठमाडौं । नेपाली निकायलाई छक्याएर एउटा भारतीय चलचित्र टोली नेपालमा छायांकन सकाएर फर्केको खुलासा भएको छ ।

टोलीले काठमाडौं बौद्ध आसपासमा छायाँकन गरेको खुलेको छ । तर नेपालका सम्बन्धित कार्यालयलाई यसबारेमा कुनै पत्तो छैन । कतिसम्म भने चलचित्र छायांकन टोली आएको र फर्किएको रेकर्डसम्म छैन ।

दक्षिण भारतीय चलचित्रका चर्चित तथा लोकप्रिय अभिनेता चियान विक्रम आफ्ना छोराको डेब्यु चलचित्रको छायाँकन नेपालमा सकेर फर्किएका हुन्।

उनका छोरा धु्रबका लागि निर्माण हुन लागेको अर्जुन रेड्डीको सिक्वेल विक्रमले काठमाडौं आसपासमा क्षेत्रमा छायाँकन गरेका हुन्। विक्रमले आफ्नो फेसबुक पेजमा बौद्धमा छायाँकन गरेको तस्बिरका साथै बौद्ध भिक्षुहरुसँग लिएको सामुहिक तस्बिर राखेपछि बल्ल खुलासा भएको हो ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार गत साता काठमाडौंमा चलचित्रको छायाँकन भएको हो। विक्रम हिन्दी र तेलगु दुवै भाषामा सुपरहिट भएको चलचित्र ‘आई’ का मुख्य अभिनेता हुन। अभिनेता विक्रमले नेपालका विभिन्न स्थानमा आफ्ना फ्यानसँग खिचेका तस्वीर फेसबुक पेजमा पोष्ट गरेका छन्।

नेपालमा विदेशी चलचित्र छायांकनका लागि नेपाल सरकार सञ्चार मन्त्रालयबाट अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ। मन्त्रालयले सो विषयमा सुरक्षाका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पत्र लेख्नेगर्छ। यस्तै छायाँकन हुने क्षेत्र अनुसारका मन्त्रालय र विभाग तथा ड्रोनको प्रयोग गर्ने भएमा रक्षा तथा गृहसँग समेत अनुमति अनिबार्य गरिएको छ।

नेपालमा छायाँकन गरिएको चलचित्रका विषयमा सञ्चार मन्त्रालय अनभिज्ञता प्रकट गर्दछ। मन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र ढकाल र सञ्चार महाशाखा प्रमुख प्रेमकुमार श्रेष्ठले आफूहरुलाई यस विषयमा कुनै जानकारी नभएको प्रतिक्रिया नेपालखबरलाई दिए।

महाशाखा प्रमुख रहेका श्रेष्ठले भने ‘नेपाली कम्पनी मार्फत वा प्रत्यक्ष हामीसँग अनुमति लिएको हुनुपर्छ, हामीले छायाँकन स्थलमा अधिकारी सहित सम्बन्धीत सबै निकायमा पत्राचार गरेका हुन्छौ, यो सायद अनुमति नलिएको हुनुपर्छ।’

काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले छायाँकनका विषयमा कतैबाट कुनै पत्र नआएको बताए।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले भारतीय चलचित्रको छायाँकनका विषयमा आफूलाई कुनै जानकारीप्राप्त नभएको बताए। उनले काठमाडौंका कुनै पनि प्रहरी इकाईलाई यसका विषयमा जानकारी छैन।

‘जिल्ला प्रशासन मार्फत हामीलाई जानकारी हुनुपर्ने हो, केही थाह भएन,’ एसएसपी पोखरेलले भने।

Comments

comments