एजेन्सी । विश्वकप क्रिकेट छनौट खेलमा नेपाल आज चीर प्रतिद्वन्दि देश अफगानिस्तानसँग आमनेसामने हुँदैछ ।

शनिबार जिम्बाबेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा आमनेसामने हुँदा दुवै देशलाई जित्नैपर्ने दवाव हुनेछ । तर यो दवाव नेपाललाई धेरै हुनेछ । प्रतियोगितामा यसअघिका दुवै खेल हारेको नेपाललाई आजको खेल जित्दै सुपरसिक्सको सम्भावना कायमै राख्नुपर्ने चुनौती छ ।

त्यसो त यसअघिका तीनै खेल हारेको अफगानिस्तानलाई पनि आज कम दवाव भने हुने छैन । प्रतियोगिताकै उपाधि विजेताका रुपमा चर्चा बटुलेर जिम्बाबे पुगेको अफगानिस्तान समूह चरणका सबै खेल हारेर घर फर्किन चाहदैन र यसका लागि आज उसलाई अन्तिम अवसर प्राप्त हुनेछ । त्यसो त सुपरसिक्समा पुग्ने अफगानिस्तानको गणितीय सम्भावना पनि बाँकी नै छ । अफगानिस्तानले नेपाललाई हराएमा, हङकङ जिम्बावेसँग पराजित भएमा र नेपालले हङकङलाइ हराएमा समूह ‘बी’ बाट सुपरसिक्समा पुग्ने तेस्रो देश अफगानिस्तान, नेपाल र हङकङ जुन पनि हुन सक्छ ।

यस्तो अवस्थामा नेपालका लागि अफगानिस्तानको खराब लय र अफगानिस्तानका लागि अहिलेसम्मको हेड टू हेडको नतिजाले प्रेरणा दिनेछन् ।

खेल बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ ।

प्रतियोगितामा यसपटक ब्याटिङको समस्या झेलिरहेको नेपाली टोलीका लागि टेष्ट मान्यता पाइसकेको अफगानी बलर नेपालका लागि चुनौति बन्न सक्छन् ।

जिम्बाबेसँगको खेलमा केही सुधार भएको झल्को दिए पनि नेपाली ब्याट्स्म्यानले स्कटल्याण्डसँग त्यस अनुसारको प्रदर्शन गर्न सकेनन् । क्रिजमा टिक्न नसक्ने छवी बनाइरहेको ओपनिङ लाइनअप र धर्मराउने मध्यक्रम दुवैका लागि आजको दिन परीक्षा हो ।

ब्याटिङले साथ दिए नेपाली बलरले आफ्नो धर्म निर्वाह गर्ने विश्वास गर्न सकिन्छ ।

Comments

comments