काठमाडौं । पहिलो नेपाल आइडलका विजेता बुद्ध लामाले अहिलेसम्म आफूले जितेको पुरस्कार नपाएको खुलासा गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत भिडियो सन्देश सार्वजनिक गर्दै उनले नेपाल आइडल बनेको ८ महिना वितिसक्दा पनि आफूले आयोजक एपीवान टेलिभिजनबाट पुरस्कार वापतको नगद र कार नपाएको खुलासा गरेका हुन् ।

सन्देशमा उनले भनेका छन्–’म तामाङको छोरो,कुरा घुमाएर भन्न आउँदैन । सीधै भन्नुपर्दा मैले नेपाल आइडल जितेको ८ महिना वितिसक्दा पनि दुख बाहेक आयोजकबाट केही पाउन सकेको छैन ।’

साथै उनले आफूले नगद पुरस्कार पाउन आठ महिना एपीवान कार्यालयको चक्कर लगाए पनि विभिन्न वहानामा नक्कली चेक दिएर झुक्याउने मात्र गरेको गुनासो गरे । बाहिरी दुनियाँले देख्दा नेपाल आइडल भए पनि यथार्थमा घर चलाउन समेत धौ धौ परिरहेको उनले भिडियो सन्देशमा व्यक्त गरेका छन् । ‘मेरो आर्थिक हैसियत थाहा पाउँदा पाउँदै’ पनि आफूले जितेको कारको ट्याक्स वापतको रकम भन्दै उल्टै १० लाख भन्दा बढी माग्ने गरेको उनले बताएका छन् ।

उनले अडियोमा भनेका छन् , ” ‘मैले अहिलेसम्म पुरस्कारमा पाएको कार पाएँ। तर ब्लुबुक पाएको छैन। ब्लुबुक नपाएपछि गाडी कसरी चलाउने?’

एपीवानले भने कार्यक्रममा घोषणा भएको पुरस्कार सबै प्रदान गरेको दाबी गरेको छ। बुद्ध लामाले कर नतिरेकोले कार नपाएको र चेकमा समस्या भयो भनेपछि कन्ट्रयाक्टअनुसार क्यास नै दिइसकेको आयोजकको दाबी छ।

एपी वान टेलिभिजनले सञ्चालन गरेको रियालिटी शो नेपाल आइडलको पहिलो सिजनमा विजेताको लागि २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी १०० गाडी पुरस्कारको घोषणा गरिएको थियो। साथमा १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्टसमेत उल्लेख थियो ।

यस्तै अर्को एक अन्तर्वार्तामा उनले एपीवानसँगको सम्झौताकै कारण आफूले एल्वम र गीत निकाल्न नसकिरहेको गुनासो गरेका छन् । नेपाल आइडलमा फस्ट र सेकेण्ड रनरअप बनेका निशान्त भट्टराई र सागर आलेका एकपछि अर्को गीत र भिडियो आइरहदा नेपाल आइडल बुद्ध लामाका भने कुनै औपचारिक गीत र भिडियो आएको छैन ।

उता एपीवान टेलिभिजन भने नेपाल आइडलको दोस्रो सिजनकालागि अडिसनमा जाने अन्तिम तयारीमा छ । उसले चैत्रको पहिलो साताबाट अडिसन शुरु गर्ने तालिका सार्वजनिक गरिसकेको छ ।

बुद्ध लामाले किन पाएनन् पुरस्कार ?

नेपाल आइडलको पहिलो सिजनले चर्चा र टेलिभिजन टिआरपी बढेको आयोजक एपीवान स्वीकार्छन् । तर उसलाई पनि नेपाल आइडलको ठेक्का पाएको विज्ञापन एजेन्सीले अहिलेसम्म पूरा भुक्तानी नदिदा आर्थिक संकट परेको निकटस्थ स्रोतले जनाएको छ ।

Comments

comments