काठमाडौं । नेपालका उद्योगपति विनोद चौधरीको सम्पत्ति गत वर्षको तुलनामा २० अर्ब रुपैयाँ थप भएको विश्वका धनाढ्यहरूको सूची प्रकाशित गर्ने अमेरिकी म्यागेजिन फोर्ब्सले जनाएको छ।

अघिल्लो वर्ष उनको सम्पत्ति १।५ अर्ब अमेरिकी डलर थियो। सन् २०१८ मार्च ६ सम्मको सम्पत्ति गणना गर्दे फोर्ब्सले यस्तो विवरण सार्वजनिक गरेको हो।

फोर्ब्सको नयाँ अर्बपति सूचीमा चौधरी १ हजार ५ सय ६१ औं स्थानमा परेका छन्। गत वर्ष उनी १ हजार ५ सय ६३ औं स्थानमा थिए। विनोद चौधरीको मुख्य आम्दानी गर्ने कम्पनी सीजी कर्प ग्लोबल रहेको फोर्ब्सले उल्लेख गरेको छ।

नेपालमा नबिल बैंक उनको आम्दानीको ठूलो हिस्सा मानिएको छ। सिजीको पोर्टफोलियोमा बियर, खाद्यान्न, इलेक्ट्रोनिक्स, होटल छन्। सिजी फुड्सले लोकप्रिय वाईवाई चाउचाउ उत्पादन गर्छ। अहिले वाईवाई नेपाल, भारत, सर्बिया, साउदी अरब र बंगलादेशबाट उत्पादन भइरहेको छ।

सिजीको २९ होटलमा स्वामित्व र ७० वटामा व्यवस्थापन सम्पत्ति रहेको छ। भारतको ताज होटलमा सिजीको मुख्य सेयर हिस्सा रहेको छ।

Comments

comments