दार्जिलिङ। विश्व चर्चित कोलम्बियन लेखक मार्खेजको जन्म दिवसको दिन नेपाली साहित्यका महान साहित्यकार इन्द्रबहादुर राईको आज साँझ देहान्त भयो। नेपाली साहित्यका श्रीपेच राई धेरैदिनदेखि विविध बिमारीसित जुझिरहेका थिए।

तेस्रो आयाम र लीला लेखनका प्रणेता राई आख्यान र आलोचना दुवै विधामा धेरै रुचाइएका लेखक थिए। इन्द्रबहादुरको जन्म 3 फरवरी 1927 खरसाङको बालासन खोला नजिक भएको थियो। बाबु रणवीर राई र आमा हस्तमाया देवानको छोरो राईले आफ्नो जन्मबारे प्रश्न गर्दा भन्थे ‘मेरा बाबुआमा उक्त खोलाको पुल निर्माणको काममा खटिरहेका बेला म त्यहीँ बगरमा जन्मिएको अरे।’

निम्न आय भएको परिवारमा जन्मे पनि उनको शिक्षादीक्षामा भने कुनै कमी भएन। उनी अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेपछि प्राध्यापनमा लागे। पहिलो सङ्ग्रहका रूपमा विपना कतिपय सन् १९६१ मा आएको हो। १९५८ मा नै लेखिसिध्याएको उपन्यास आज रमिता छ उनले १९६४ मा प्रकाशित गरेका हुन्। आज रमिता छ, जीवन र जगत खोतलिएको उपन्यास मानिन्छ। समालोचकहरू यही उपन्यासपछि अन्य उपन्यासबारे लेख्दा कृतिले जीवन र जगत खोतलेको कुरा गर्न थालेका हुन्।

उनले ‘जीवन र जगत’ शब्दबारे भनेका छन्, ‘माथ्यु आर्नोल्डको ‘एसेज इन क्रिटिसिज्म’ किताबमा गेटेको बारेमा लेख्दा-जीवन र जगत् भन्ने शब्दहरू लेखिएका पाएँ। त्यहीँबाट जीवन र जगत लेख्दै आएँ।’ उनी आफैले समरसेट ममको पढेपछि बीसदिनमा विपना कतिपय लेखेको पनि जनाएका थिए। इश्वर बल्लभ, बैरागी काइँला अनि इन्द्रबहादुर राईले नेपाली साहित्यमा तेस्रो आयाम लेखन भित्राएका हुन्। तेस्रो आयामले जीवन र जगतलाई समेट्ने नदेखेपछि उनले लीलालेखन शुरु गरेका हुन्।

उनले ‘नेपाली उपन्यासका आधारहरू’ समालोचना कृतिका लागि सन् १९७५ को ‘साहित्य अकादमी पुरस्कार पाए। अकादमी पुरस्कार पाउने उनी पहिलो भारतीय नेपाली लेखक पनि हुन्। कथा, उपन्यास, समालोचना, निबन्ध, नाटकमा उनी छाएका लेखक थिए। केही वर्ष अघि उनको श्रीमति माया राई बितेपछि उनी एक्लो बनेका थिए। श्रीमती बितेदेखि बिरामी रहेका राईको दार्जीलिङमा देहान्त भएको हो। कवि ज्ञानेन्द्र खतिवडाले नेपालीसमाजले धेरै ठूलो क्षति बेहोर्नु परेको बताएका छन्।

‘राई सर्जक मात्र नभएर राजनीतिज्ञ, चिन्तक पनि थिए,’ उनले भने, सहित्य त उहाँको मूल क्षेत्र हुँदै हो। जातिलाई लिएर पनि चिन्तित रहने सर्जक हुनुहुन्थ्यो। उहाँ बित्नु भो। यो क्षति कहिल्यै पुरा हुनेछैन।’ कवि राजा पुनियानीले इबराले साहित्यलाई गम्भीर कलाकोरूपमा स्थापित गर्न जुन योगदान दिए, त्यस्तो योगदान बिरलैले मात्र दिएको बताए। ‘उनी नेपाली साहित्यका पथप्रदर्शक सर्जक थिए,’ उनले भने, कुनै पनि पुस्ताले तेस्रो आयाम कालको महत्ता बोक्न सक्दैनन्।’

Comments