काठमाडौं । नेपालले यसअघिको परम्परालाई तोड्दै पाकिस्तानी प्रधानमन्त्री शाहीद खकान अब्बासीलाई नेपालमा स्वागत गरेको छ ।

यसअघि विदेशी अति विशिष्ट पाहुनालाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्ष परिसरमा दिइँदै आएको सम्मान गारथ ‘गार्ड अफ अनर’ पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई सैनिक मञ्च टुँडिखेलमादिइएको छ ।

३ फागुनमा प्रधानमन्त्रीको शपथ लिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन नेपाल आएका अब्बासीको अर्थमन्त्री डा। युवराज खतिवडाले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । पाकिस्तानी प्रधानमन्त्रीको स्वागतमा अर्थमन्त्री डा. खतिवडासहित परराष्ट्रसचिव शंकरदास बैरागीसहितका उच्च अधिकारी विमानस्थल पुगेका थिए ।

पाकिस्तानी सेनाको पाकिस्तान एयर फोर्सको विशेष विमानबाट अब्बासी काठमाडौं अवतरण गरेका थिए । ओलीको दोस्रो सिंहदरबार यात्रापश्चात् नेपाल भ्रमण गर्ने पहिलो विशिष्ट पाहुना बनेका अब्बासीले सोमबार नै प्रधानमन्त्रीलाई भेट गरी बधाई ज्ञापन गरेका छन् ।

यसअघि नेपाल ओर्लिने अति विशिष्ट पाहुनाका स्वागतमा समान हैसियतका अधिकारी विमानस्थल पुग्ने चलन थियो । विमानस्थलमै सम्मान गारथ दिइने हुँदा सोही हैसियतका अधिकारी विमानस्थल पुग्दै आएका थिए । यसअघि भारतका तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीको स्वागतमा राष्ट्रपति विद्यादेवी भण्डारी नै विमानस्थल पुगेकी थिइन् ।अब यो परम्परा तोडिएको छ । सम्मान गारथ सैनिक मञ्च टुँडिखेलमा दिइनेछ भने विमानस्थलमा स्वागतका लागि सवारीमन्त्री पठाइने परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले जानकारी दिए ।

टुँडिखेलमा १९ तोपको सलामी

यसैबीच, पाकिस्तानी प्रधानमन्त्री अब्बासीको सम्मानमा टुँडिखेलमा सम्मानगारथस्वरूप १९ तोपको सलामी दिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले आप्mना पाकिस्तानी समकक्षी अब्बासीलाई सैनिक मञ्च टुँडिखेलको अति विशिष्ट कक्षमा स्वागत गर्दै सैनिक परेडसहित सम्मान गारथको निरीक्षण गराएका थिए । समारोहमा नेपाली सेनाले दुवै देशको राष्ट्रिय धुन बजाएका थिए । समारोहमा पाकिस्तानी प्रधानमन्त्रीले मन्त्रीगण, संवैधानिक निकायका प्रमुख एवं नेपाल सरकारका उच्चपदस्थ अधिकारी एवं प्रधानसेनापति राजेन्द्र क्षत्रीको परिचय लिएका थिए ।

यसैबीच, नेपालको दुईदिने भ्रमणमा आएका पाकिस्तानी प्रधानमन्त्री अब्बासीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्विपक्षीय भेट गरेका छन् । सोमबार साँझ नै दुई प्रधानमन्त्रीबीच होटल याक एन्ड यतीमा भेटवार्ता भएको थियो ।
भेटवार्ताका क्रममा दुई नेताबीच स्थगित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९औं शिखर सम्मेलन सम्पन्न गर्ने विषयमा छलफलल भएको छ । पाकिस्तान सार्कको १९औं शिखर सम्मेलन आयोजक राष्ट्र हो भने नेपाल सार्कको अध्यक्ष राष्ट्र हो ।

सन् २०१४ मा काठमाडौंमा सम्पन्न १८औं शिखर सम्मेलनले १९औं शिखर सम्मेलन आयोजनाको जिम्मा पाकिस्तानलाई दिएको थियो । सन् २०१६ मा हुने भनिएको शिखर सम्मेलन भारतको उरीमा भएको आतंकवादी हमलापछि भारतले सहभागिता नजनाउने भएपछि स्थगित भएको थियो ।

भारतले आक्रमणमा पाकिस्तानको हात रहेको आरोप लगाउँदै आएको छ । प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार भेटमा सार्कलाई गति दिने विषयमा छलफल भएको हो । ‘दुई देशबीचको पारस्परिक हित र चासोका द्विपक्षीय विषयमा पनि छलफल भएको छ,’ उनले भने, ‘एकअर्काको विकासमा कसरी सहयोग आदानप्रदान गर्न सकिन्छ भन्ने विषयमा दुई प्रधानमन्त्रीबीच गहन छलफल भएको छ ।’

Comments