काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासी सोमबार नेपाल आउँदै हुनुहुन्छ ।

विश्वका शक्ति राष्ट्रहरु धु्रविकरण भईरहेको अवस्थामा चीनतर्फ नजिकिएको पाकिस्तानका प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । औपचारिक रुपमा बधाइ दिन भनिएपनि अब्बासीको दुई दिने नेपाल भ्रमणको मुख्य उदेश्य सार्क शिखर सम्मेलन भएको बुझाइ छ ।

पाकिस्तानको राजधानी इस्लामावादमा सन् २०१८ नोभेम्बर ९ र १० गतेका लागि १० औँ सार्क शिखर सम्मेलन गर्ने मिति तय भएको थियो । तर भारत प्रशासित जम्मुकाश्मिरको उरी भन्ने ठाउँमा विद्रोही समूहले आक्रमण गरेर १७ जना भारतीय सैनिकको हत्या गरेपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण भयो ।

दक्षिण एशियामा परमाणु बम रहेका शक्तिशाली राष्ट्र भारत र पाकिस्तानको विवादले उग्र रुप लिंदै गएपछि निर्धारित समयमा सार्क सम्मेलन हुन सकेन । भारतसहित बंगलादेश, अफगानिस्तान र भुटानले पाकिस्तानमा हुने सार्क शिखर सम्मेलनमा सहभागी हुन नसक्ने जानकारी गराएपछि १९ औँ सार्क शिखर सम्मेलन अनिश्चित छ ।

वर्णानुक्रमका आधारमा सार्कको अध्यक्षता गर्ने व्यवस्था अनुसार हाल नेपालले सार्कको अध्यक्षता गरिरहेको छ । नेपालले सार्कको शिखर सम्मेलन गर्ने वातावरण बनाउन आग्रह गरे पनि पाकिस्तानमा नै गर्नुपर्छ वा अन्यत्र सारेर गर्ने भन्ने बारेमा आफ्नो धारणा बाहिर ल्याएको छैन ।

नेपाल अध्यक्ष राष्ट्रको हैसियतले सार्क शिखर सम्मेलन आयोजना गर्न अनुकूल वातावरण बनाउन आग्रह गर्न पाकिस्तानी प्रधानमन्त्री नेपाल आउन लागेको विश्लेषण हुन थालेको छ । नेपालको त्यो नेतृत्वदायी भूमिका र मध्यस्थताकर्ताको महसुस गर्दै अब्बासी नेपाल आउन लागेको परराष्ट्रविदहरुको भनाई छ ।

नेपाल र पाकिस्तानबीच यसअघि पनि उच्चस्तरीय भेटवार्ता भएका छन् । तर प्रधानमन्त्रीलाई बधाई दिन भन्दै पाकिस्तानी प्रधानमन्त्री नेपाल आएको संभवत पहिलो पटक हो ।

पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपालको निमन्त्रणामा नभई आफ्नै इच्छामा आउन लाग्नु भएको हो । भ्रमण टोलीमा विदेशमन्त्री खवाजा मोहम्मद असिफ, परराष्ट्र सचिव तेहिमना जान्जुआ, परराष्ट्र प्रवक्ता डा. मोहम्मद फैसललगायत एक दर्जन उच्च अधिकारी रहनेछन् ।

आफ्नै विमानबाट आउन लागेका पाकिस्तानी प्रधानमन्त्रीले नेपाली समकक्षी केपी ओलीसँग सोमबार रात्री भोजसहित औपचारिक वार्ता गर्दै हुनुहुन्छ । त्यसपछि मंगलबार बिहान राष्ट्रिपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरी स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Comments

comments