काठमाडौं । सरकारी दस्तावेज किर्ते गरेको अभियोग लागेका पूर्वडिआइजी एवम् ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद नवराज सिलवाल संघीय संसद भवनभित्र देखिए पनि प्रहरीले यसबारे अनविज्ञता प्रकट गरेको छ ।

प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका सिलवाल संघीय संसद भवन बानेश्वरभित्र देखिएपछि प्रतिक्रिया माग्दा प्रहरी प्रवक्ता मनोज नेउपानेले यसबारे आफूलाई जानकारी नभएको बताउनुभयो ।

त्यसपछि काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलसँग सम्पर्क गर्दा उहाँले पनि आफूलाई थाहा नभएको प्रतिक्रिया दिनुभयो ।

त्यसो त संसद भवनको प्रवेशद्वारमा चौबीसै घण्टा प्रहरीले सुरक्षा दिन्छ । त्यही प्रवेशद्वारबाट सिलवाल भित्र प्रवेश गरे पनि प्रहरीले कुनै वास्ता गरेन । सिलवाल एमाले–माओवादीका सांसदलाई प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयुक्तरूपमा दिने प्रशिक्षणमा सहभागी हुन संसद भवन छिर्नुभएको हो ।

सिलवाल एमाले–माओवादी गठबन्धनको साझा उम्मेदवार बनेर ललितपुर १ बाट निर्वाचित हुनुभएको हो ।

सिलवालले वरीयताका आधारमा आफूलाई नै डीआईजीबाट आईजीपीमा बढुवा गर्नुपर्ने मागसहित सर्वोच्चमा दिएको रिटमा प्रहरीको कार्यसम्पादन मूल्याङ्कन तोडमोड गरेको आरोप छ ।

संघीय संसदका सदस्यहरूको शपथग्रहण आइतबारका लागि तोकिएको छ । आइतबार शपथ लिन भ्याएको खण्डमा प्रहरीले सभामुखको अनुमतिविना सिलवाललाई पक्रिन पाउने छैन ।

Comments

comments