काठमाडौं । ‘गौतम बुद्ध नेपालमा जन्मेका हुन’ भन्ने तथ्य सन्देश दिन शनिवार काठमाडौंको टुँडिखेलमा ७५ हजार मानिसको उपस्थितिमा धम्मपद (बुद्ध वचन) वाचन कार्यक्रम हुँदैछ ।

बुद्ध नेपालमा जन्मेका हुन भनेर फेरी एकपटक संसारलाई सुनाउनको लागि कार्यक्रम आयोजना गरिएको आयोजकमध्येका एक पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता आनन्द पोखरेलले जानकारी दिनुभयो । उहाँले बुद्धका बारेमा फिजाईएका भ्रमहरुलाई मेट्नको लागि ७५ हजार मानिसले एउटै स्वरमा बुद्ध श्लोक वाचन गरेर विश्वलाई सुनाईने बताउनुभयो ।

‘बुद्ध धर्म शान्ति, सद्भाव, न्यायपूर्ण समाजको प्रतिविम्ब हो, यसलाई कसैले निजी धर्म नठकानीकन सबैको साझा सम्पतिका रुपमा लिनुपर्छ, विश्वमा गौतम बुद्धप्रति भैरहेका भ्रमहरुलाई चिर्नको लागि यो कार्यक्रमको आयोजना गरिएको हो, विश्वका ६ वटा देशका पाठ्यपुस्तकमा बुद्ध भारतमा जन्मिभएका हुन भनेर लेखिएको छ, हामीले त्यस प्रकारका भ्रमहरुलाई चिर्नुपर्छ ,’ पोखरेलको भनाइ छ ।

शनिवार हुने कार्यक्रम केबल विश्व रेकर्ड तोड्नको लागि मात्रै नभई स्वाभिमान र राष्ट्रियताको लागि भएकोले ७५ हजार मानिसको नाम रेकर्ड हुने हुँदा सबै जनालाई उपस्थित हुनको लागि आग्रह आयोजकले आग्रह गरेको छ । यसकालागि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उपस्थितिको लागि समय छुट्याईएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले धम्पदमा समावेश श्लोक वाचन गरेर उद्घाटन गर्नुहुने कार्यक्रममा १४ वर्ष माथिका व्यक्तिले सहभागिता जनाउन सक्ने सद्भावनादूत डा भोला रिजालले जानकारी दिनुभयो ।

चर्चित नायक निखिल उप्रेतीले राष्ट्रियताको लागि एकजुट हुन आग्रह गर्नुभएको छ । गौतम बुद्ध नेपालमा जन्मिएका हुन भनेर भन्दा हामीलाई किन अफ्ट्यारो हुन्छ ? हामीसँग थोरै पनि अनुशासनन र करुणा छ भने त्यो बुद्धको भावना हो, नेपालमा फुलेको बुद्धको फूलले विश्वमा बासना फैलाईरहेको छ, कसै कसैले बुद्धको नाममा भम्रम फैलाउने काम गरेको देख्दा अच्चम लाग्छ,’उप्रेतीको भनाइ छ । उहाँले राष्ट्रियताको लागि सबै एक ठाउँमा आउनुपर्ने स्थिति रहेको औंल्याउदै सबै कुरा बिर्सेर अब सबै नेपाली बुद्धको नाममा एक ठाउँमा आउनुपर्नेमा जोड दिनुभयो ।

राजधानीको टुडिखेलमा ७५ हजार मानिस जम्मा भएर एउटै स्वरमा ‘बुद्ध नेपालमा जन्मिएका हुन’ भन्ने वचन वाचन गरेर गौतम बुद्ध नेपालमा जन्मेका हुने भन्ने तथ्य संसार सामु चिनाउन विश्व कीर्तिमानि परिषद नेपालले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा उपस्थित हुने सबैलाई गिनिज बुक वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

Comments