मेलबर्न । आफ्नै जग्गामा भवन बनाउने नेपाली राजदूतावास, अष्ट्रेलियाको लामो समयदेखिको सपना पूरा हुने भएको छ ।

दूतावासले भवन निर्माण प्रायोजनकालागि जग्गा खरिद गरेको हो । अष्ट्रेलियामा रहेका विदेशी कूटनैतिक नियोगहरुका लागि त्यहाँको सरकारले छुट्याएका सीमित जमिनमध्ये O’Malley स्थित ब्लक नं. ३२, सेक्सन ५ को जमिन नेपाल सरकारले खरिद गरेको हो ।
जग्गा खरिदबारे अष्ट्रेलिया सरकारको भूमिसम्बन्धि प्राधिकरण नेशनल क्यापिटल अथोरिटी (एनसीए) सँग क्रोन लिज एग्रिमेन्टमा हस्ताक्षर गरिएको नेपाली राजदूतावास अष्ट्रेलियाले जानकारी दिएको छ ।

क्रोन लिज एग्रिमेन्टमा अष्ट्रेलियाका नेपाली राजदूत लक्की शेर्पा र एनसीएका प्रमुख कार्यकारी अधिकृत एमएस सली बर्न्सले हस्ताक्षर गरेका हुन् । उक्त अवसरमा नेपाली राजदूतावासका कर्मचारीसँगै एनसीएका अधिकारीहरुको समेत उपस्थिति थियो ।

दूतावासले खरिद गरेको जग्गाको कूल क्षेत्रफल ६१९८ वर्ग मिटर छ ।

सम्झौतापछि राजदूत शेर्पाले सामाजिक सञ्जाल मार्फत दूतावासले जग्गा खरिद गर्ने ऐतिहासिक कार्य सम्पन्न भएको भन्दै प्रसन्नता व्यक्त गर्नुभएको छ । उहाँले नेपाल र अष्ट्रेलियाबिच कुटनीतिक सम्बन्ध लगभग साठी बर्ष पुग्दा नेपालीको संख्या उलेख्य रहनुको साथै नेपाली दुताबासको लागि आफ्नै स्वामित्वमा हुनेगरी जि टु जि अन्तर्गत ६१९८ बर्ग मिटर लगभग (१३ रोपनी) जग्गा खरिद गर्ने एतिहासिक कार्य सम्पन्न भएको उल्लेख गर्नुभएको छ ।

यसले दुई देशबिचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास राजदूत शेर्पाले व्यक्त गर्नुभएको छ ।

Comments

comments