काठमाडौं । प्रतिनिधिसभाका ३६ र राष्ट्रिय सभाका ६ गरी ४२ जना सांसदले नेपालीबाहेक विभिन्न मातृभाषामा शपथ लिने भएका छन् । संसद् सचिवालयले नेपालीबाहेकका भाषामा शपथ लिने सांसदलाई निवेदन दिन शुक्रबारसम्मको समय तोकेको थियो ।

नेपाली भाषामा शपथ लिनेले भने निवेदन दिनु नपर्ने व्यवस्था छ । तोकिएको समयभित्र ४२ निवेदन परेका छन् । आइतबार सांसदहरूको शपथ हुँदै छ ।

सचिवालयमा प्राप्त निवेदनअनुसार मैथली भाषामा सबैभन्दा बढी १७ सांसदले शपथ लिने भएका छन् । जसमध्ये १३ प्रतिनिधिसभा र ४ राष्ट्रिय सभाका सदस्य छन् । त्यसबाहेक हिन्दीमा ९, भोजपुरीमा ५, थारूमा ३, मगरमा २, बज्जिकामा २ तथा उर्दू, तामाङ, नेवारी र अवधि भाषामा एक–एक सदस्यले शपथ लिनेछन् ।

राष्ट्रिय सभामा मनोनीत ३ सदस्यको शपथ रोकिने 

राष्ट्रिय सभाका लागि सरकारले सिफारिस गरेका ३ जना सांसदको शपथ भने नहुने भएको छ । सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै उनीहरूको शपथ रोकिएको हो । राष्ट्रिय सभा सदस्यका लागि सरकारले डा। युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेललाई सिफारिस गरेको थियो ।

राष्ट्रपतिले राष्ट्रिय सभामा उनीहरूलाई मनोनयन गरे पनि सर्वोच्चले शपथ नगराउन आदेश दिएको थियो । खतिवडा, बिडारी र पौडेलको मनोनयन संवैधानिक प्रावधानअनुकूल नदेखिएको भन्दै अन्तरिम आदेशको छलफलबाट टुंगो नलागेसम्म शपथ नगर्न सर्वोच्चले भनेको छ ।

शपथ र पहिलो बैठकको तयारी

प्रतिनिधिसभामा २७५ र राष्ट्रिय सभामा ५९ गरी ३३४ सांसद छन् । प्रतिनिधिसभामा निर्वा्चित रेशम चौधरीको शपथ अझै अन्योल छ भने राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनीत ३ सांसदको शपथ तत्काल नहुने भएको छ । आइतबार हुने शपथ कार्यक्रम कुनै तामझामविनै सामान्य प्रक्रियाबाट हुने संसद् सचिवालयले जनाएको छ । नयाँ बानेश्वरस्थित प्रतिनिधिसभा हलमा प्रतिनिधिसभाका र नुप्सेहलमा राष्ट्रिय सभा सदस्यको शपथ हुनेछ ।

Comments

comments