काठमाडौँ  । वर्ल्डकप क्वालिफायरको वार्म अप म्याचमा नेपालले विजयी सुरुवात गरेको छ। वर्षाका कारण २९ ओभरमा छोट्याइएको खेलमा नेपाल ४ बल बाँकी छँदा  युएईले दिएको १७२ रनको लक्ष्य पूरा गरी पाँच विकेटले विजयी भएको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको युएइले सुरुमै पहिलो विकेट गुमाएपछि दवावको सामना गरेको थियो। २८.५ ओभरमा अलआउट भएको युएइले १ सय ७१ रन जोडेको थियो।

नेपाली बलरहरुमध्ये ललित भण्डारीले ४ विकेट लिए भने करन केसीले ३ र ललित राजवंशीले दुई विकेट हात पारे। कप्तान पारस खड्काको खातामा एक विकेट रह्यो। सन्दीप लामिछानेले कुनै विकेट लिएनन्।

जवाफी ब्याटिङमा उत्रिएको नेपाली टोलीको ओपनिङ फेरि धर्मरायो। ओपनर दीलिप नाथ ४ रनमा आमिर हयाटको एलबिडब्ल्यु धरापमा परे भने उनैले अर्का ओपनर ज्ञानेन्द्र मल्ललाई क्याच आउट गराउँदा उनको खातामा १२ रनमात्रै थियो। अनिल शाह पनि ११ रनमा मोहम्मद नाभीबाट बोल्ड भए। कप्तान पारस खड्का पनि २८ रनमा आउट हुँदा नेपाल ६९ रनमा ४ विकेट गुमाएर संकटमा थियो।

नेपालको पारी सम्हाल्ने काम पाँचौँ र छैटौँ नम्बरमा ब्याटिङका लागि आएका शरद् भेषावकर र दीपेन्द्र सिंह ऐरीले गरे। दुवैले पाँचौँ विकेटका लागि ५७ रनको साझेदारी गरे। दुवैले व्यक्तिगत ४१ रन बनाए। शरदले २३ रन बनाएका आरिफ सेखसँग नट आउट खेल्दै विजयी रन लिए।

नेपालले अर्को अभ्यास म्याच बिहीबार हङकङसित खेल्नेछ।  समूह चरणको खेल भने मार्च ४ देखि सुरु हुनेछ।

Comments

comments