एजेन्सी । रिङमा जित हात पारेको केही घण्टामै एक बक्सरको निधन भएको छ । शंनिबार बेलायती प्रोफेस्नल बक्सर स्कट वेष्टग्राथको ३१ वर्षको उमेरमा निधन भएको हो ।

शनिबार भएको लाइट हेभिवेट फाइटको इलिमिनेटर राउन्ड जितेको केही घण्टापछि उनको उपचारका क्रममा निधन भएको जनाइएको छ । तर उनको निधन भएको सोमबार राति मात्र जानकारी गराइएको हो ।

खेल सकिएलगत्तै सञ्चारमाध्यमसँगको कुराकानी पछि उनी स्टक ब्याकस्टेजमा बेहोस भएर लडेका थिए । जसका कारण उनलाई तत्कालै अस्पताल लगिएको थियो ।

तर उपचारका क्रममा उनको निधन भएको ब्रिटिस बक्सिङ संघले जनाएको छ । स्कटको निधनपछि यतिबेला बेलायती बक्सिङ खेलाडी आश्चार्यमा परेका छन भने ब्रिटिस बक्सिङ संघले खेलाडीको सुरक्षाका लागि नयाँ नियम बनाउनुपर्ने माग विश्व बक्सिङ महासंघलाई राखेको छ।

इलिमिनेटर फाइट जितेपछि स्कटले अर्को राउण्डमा कुर्टिस उडहाउससँग खेल्ने तालिका थियो तर त्यो पनि रद्द भएको छ । व्यवसायिक करियरमा उनले यसअघि ६ वटामा जित दुई हार र एक बराबरी बाउट खेलेका थिए ।

खेलको लगत्तै मृत्यु हुने स्कट एक्लो खेलाडी भने होइनन् । गएको जुन महिनामा क्यानडाका टिम हगले पनि रिङमा उत्रिएको दुई दिन पछि ज्यान गुमाएका थिए । यस्तै स्कटल्याण्डका माइक टावेलको २०१६ मा ब्रेन इन्जुरीका कारण ज्यान गएका थियो ।

अघिल्लो साता टावेलका प्रतिद्धन्द्धी डेल इभान्सले बक्सिङमा चिन्ता र डर धेरै भएको भन्दै सन्यास लिएका थिए ।

Comments

comments