एजेन्सी । रुसले मंगलबारदेखि सिरियामा दैनिक पाँच घण्टा हवाई हमला रोक्ने भएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलवारदेखि सिरियाको पूर्वी गुटा क्षेत्रमा दैनिक पाँच घण्टा हवाई हमला बन्द गर्न निर्देशन दिएका छन् ।

सिरियाको राजधानी दमास्कस नजिकै विद्रोहीहरुको नियन्त्रणमा रहेको पूर्वी गुटा क्षेत्रमा झण्डै चार लाख सर्वसाधारण युद्धको चपेटामा परेको आशंका गरिएकोे छ । त्यस क्षेत्रमा रुसी सहयोगबाट सिरियाली सैन्यले भीषण हवाई हमला गर्दै आएका छन् ।

सामाजिक सञ्जालमा युद्धबाट पीडित दर्दनाक तस्बिरहरु सार्वजनिक भएपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजल तत्काल युद्धविराम लागू गर्न आव्हान गरेका थिए । आठ दिन अघिदेखि भएको सरकारी आक्रमणमा ५ सय ६० जनाभन्दा बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ ।

रुसी रक्षामन्त्री सेर्गेइ शोइगुले हमलामा ‘मानवीय रोक’ स्थानीय समय अनुसार बिहान नौ बजेदेखि दिउँसो दुई बजेसम्म रहनेछ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले शनिबार देशभर ३० दिने युद्धविराम गर्ने पक्षमा मतदान गरेको थियो । तर युद्धविराम शुरु गर्ने कुनै प्रारम्भिक मिति भने दिइएको थिएन ।

Comments