काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेता नहुन दबाब दिँदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार पार्टीका नवनिर्वाचित सांसदलाई आयोजना गरेको चियापानमा पनि त्यही खालको लबिइङ गरेका छन् । कान्तिपुरमा समाचार छ ।

निर्वाचनमा पार्टी पराजित भएका बेला गिरिजाप्रसाद कोइरालाले समेत दलको नेता नबनेर दोस्रो पुस्तालाई छाडेको स्मरण गराउँदै पौडेलले पार्टीका सबै सांसदलाई देउवालाई रोक्न आग्रह गरेका हुन् ।

पौडेलले आइतबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा लिखित धारणा राख्दै देउवाको कार्यशैली र भूमिकाबाट पार्टी कमजोर भएको निष्कर्षसहित दलको नेता नबन्न आग्रह गरेका थिए । देउवा नै दलको नेता बन्दा पार्टीले थप क्षति बेहोर्नुपर्ने तर्क पौडेलको छ ।

तर, देउवाले भने आफैं दलको नेता हुने तयारी अघि बढाएका छन् । आफ्नो पक्षमा सहजै बहुमत भएका कारण दलको नेता अरूलाई छाड्ने मनस्थितिमा नभएको देउवानिकट एक केन्द्रीय सदस्यले बताए । पौडेलले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा पार्टीको ‘लज्जास्पद’ हारमा पार्टी र सरकारको नेतृत्वमा रहेका देउवाको कार्यशैली मुख्य कारण भन्दै ५ पृष्ठको दृष्टिकोण प्रस्तुत गरेका थिए । भोलिपल्टै आफ्नै निवास बोहराटारमा आयोजित चियापानमा पनि पौडेलले देउवालाई पुनः दलको नेतामा अघि नबढ्न सुझाव दिनका लागि आग्रह गरेका थिए । चियापानमा करिब ४० सांसदको उपस्थिति थियो । उनले पार्टी सभापति देउवालाई समेत चियापानमा आउन निम्तो दिएका थिए तर देउवा गएनन् ।

Comments