काठमाडौं । पहिलो कार्यकालमा ६ जनासम्म उपप्रधानमन्त्री राखेका प्रधानमन्त्री केपी ओलीले यस पटक सरकारमा उक्त पदै नराख्ने निर्णय लिँदै एमाले र माओवादी केन्द्रका चार मन्त्री सामेल गरी सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

उपप्रधानमन्त्री नराख्ने भएपछि यसअघि उपप्रधानमन्त्री भइसकेका एमाले महासचिव ईश्वर पोखरेल प्रधानमन्त्रीपछिको वरीयताक्रममा रहने गरी रक्षामन्त्री बनेका छन् । अर्थविदसमेत रहेका पूर्वगभर्नर युवराज खतिवडालाई ओलीले अर्थमन्त्रीको जिम्मेवारी दिएका छन् । माओवादीतर्फबाट रामबहादुर थापाले गृह र मातृका यादवले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार बिहान छलफलपछि दिउँसो चार जना मन्त्री पठाउने सहमति भएको थियो ।

सरकारको पक्षमा दुई तिहाइ समर्थन जुटाउने प्रयोजनका लागि संघीय समाजवादी फोरमलाई समेत ल्याउने प्रयास सकारात्मक बनेपछि प्रधानमन्त्री ओलीले सोमबार मन्त्रिपरिषद्लाई पूर्णता नदिएका हुन् । मन्त्रिपरिषद् विस्तार गर्नुअघि ओली र दाहालले फोरमका अध्यक्ष उपेन्द्र यादवसँग बालुवाटारमा छलफल गरेका थिए । छलफलमा संविधान संशोधनको विषयमा लिखित प्रतिबद्धता जनाए सरकारमा जाने संकेत दिएपछि दुवै दलका नेता सोमबार मन्त्रिपरिषद्लाई आंशिक विस्तारमात्र गर्ने निष्कर्षमा पुगेका हुन् ।

नवनियुक्त मन्त्रीले सोमबारै राष्ट्रपतिबाट शपथ लिई कार्यभार सम्हालेका छन् । ओली नेतृत्वको मन्त्रिपरिषद् सात सदस्यीय भएको छ । सरकारले प्रधानमन्त्री कार्यालयसहित १८ वटा मन्त्रालय कायम गरेकाले अब ११ मन्त्री नियुक्त हुन बाँकी छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले एक साताभित्र मन्त्रिपरिषद् विस्तार भइसक्ने बताए । ‘प्रधानमन्त्री र माओवादी अध्यक्षले नै मन्त्री बन्नेको सूची तयार गरिरहनुभएको छ,’ उनले भने, ‘नाम तय भएजतिको चाहिँ सोमबारै शपथ भएको हो ।’

पार्टी एकता गर्ने लिखित सहमति नभएसम्म सरकारमा नजाने भन्दै ११ दिनअघि ओली प्रधानमन्त्री नियुक्त हुँदा माओवादी सरकारमा सामेल भएको थिएन । गत फागुन ७ मा एकीकरणको लिखित सहमति भएपछि माओवादी सरकारमा सामेल भएको हो । पार्टी एकताको आधारमा सहमति भएपछि मन्त्रालयको व्यवस्थापन र आकांक्षीको नाम तय गर्न दुवै दललाई सकस परेको छ ।

Comments

comments