–कामना न्यौपाने

पसलमा ग्राहकको भींड छ ।

एक जना युवक–“दाइ भर्जिन (रक्सी) दिनुस् न ! अनि सूर्य चुरोट पनि है ! “

पसलेले टक्क बोतल र चुरोटको प्याकेट ल्याएर टेबुलमा राखे ।

त्यहि समयमा एक जना किशोरी–“दाइ प्याड (सेनेटरी प्याड) दिनुस् न ! “

पसले दाइ त टेबुलमुनि गायब !

धन्न एकछिनपछि झुल्किए र एउटा झोला ती किशोरीलाई दिए, जुन झोला भित्र पत्रिकाले बेरेको पोको छ।
पसले दाइ कहाँ गायब भनेको त, प्याड कसैले नदेखुन् भनेर टेबुलमुनि नै रहेर पत्रिकाले पोको पार्दै रहेछन् !

०००००
मैले केही दिन अगाडि सामाजिक संजालमा राखेको पोस्ट थियो यो । धेरैको लागि यो मजाकको विषय बन्यो । पोस्ट राख्नुभन्दा केहीछिन अगाडि मात्र देखेको उक्त दृश्यले मलाई भने बिझेको थियो, त्यसैले सामजिक संजालमा ’सेयर’ गरें । गाउँ होस् या शहर, भूगोल फरक हो, तर “महिनावारी लाज र अरुले थाहा पाउन नहुने विषय हो “ भन्ने मानसिकता यसरी गडेको छ की, रक्सि खुल्लमखुल्ला किनबेच हुन्छ, सेनेटरी प्याड हुँदैन। कति किशोरी त प्याड किन्न जान नै धक मान्छन् । जानै पर्यो भने महिला पसले खोज्छन् र कति त अझै सेनेटरी प्याडको प्रयोगबाट टाढै छन् । स्कुले जीवनमा गाउँमा हुँदा, म आफैलाई पनि थाहा थिएन सेनेटरी प्याड ।

मैले पढेको स्कुल (गुल्मी जिल्लाको दिगाममा अवस्थित आदर्श उच्च मा.वि) ले अहिले कोष नै स्थापना गरेर छात्राहरुको लागि निःशुल्क सेनेटरी प्याडको व्यवस्था गरेको छ। तर, हामीले पढ्ने समयमा भने सेनेटरी प्याड टेलिभिजनमा आउने विज्ञापनहरुमा मात्र देख्न पाइन्थ्यो । त्यसैले हामीले सेनेटरी प्याडको रुपमा सुतीका पुराना कपडाहरु प्रयोग गथ््र्यौं । धोएर राखिएका सुतीका कपडाहरु पहिलो पटक प्रयोग गर्न त सफा नै हुन्छन्, तर प्रयोग गरिसकेपछि लुकाएर धुनुपर्ने हुनाले त्यसमा भएको फोहोर र साबुन कत्तिको जान्थ्यो होला ? त्यसपछि कसैले नदेख्ने गरि लुकाएर सुकाउनु पर्दा ती कत्तिको सुक्थे होलान् ? र,घाम बिनाको त्यो सुकाइले किटाणु मर्थे कि मर्दैनथे ! तर लोकलाजका कारण प्याडको रुपमा प्रयोग भएका ती कपडालाई त्यसरी नै लुकाएर सुकाइन्थ्यो, जसरी अहिले व्यापारीले सेनेटरी प्याडलाई पत्रिकाले बेरेर झोलामा राखिदिने गर्छन् ।

त्यसरी अपराधी जस्तै बनेर घरमा भित्रिएको सेनेटरी प्याडको प्याकेटमा आठवटा प्याड हुनेगर्छ। स्वास्थ्यका दृष्टिले एउटा प्याड चार घण्टा मात्र प्रयोग गर्नुपर्छ भन्ने सल्लाह दिइन्छ भने, महिलाहरुले एउटा प्याडलाई सामान्यतयाः ६ घण्टासम्म प्रयोग गर्छन् । चारघण्टा प्रयोग गर्न भनिएकोलाई छ घण्टासम्म ? सेनेटरी प्याडको अहिले एउटा प्याकेटको मूल्य न्युनतम ४५ देखि १३० र १६० सम्म पर्छ।६ घण्टासम्म प्रयोग गर्दा एकदिनमा ४ वटा प्याड र त्यस हिसाबले महिनावारीको सामान्य अवधि अर्थात ४ दिनसम्म २ प्याकेट प्याडको आवश्यकता पर्छ । रक्तश्राव बढी हुने र धेरै दिनसम्म रक्तश्राव हुनेहरुको लागि अझै एकदुई प्याकेट बढी चाहिन्छ । यसरी, एउटी किशोरी वा महिलाले हरेक महिना सेनेटरी प्याडको लागि न्युनतम पनि एक सय रुपैयाँ छुट्टाउनुपर्छ ।

यही कुरालाई जोड दिंदै अहिले विशेषगरि सामाजिक संजालमा एउटा मुद्दा उठिरहेको छ, “ कण्डम फ्री होइन, प्याड फ्री गर । पुरुषले प्रयोग गर्ने कण्डम विलासिताको वस्तु हो भने सेनेटरी प्याड महिलाहरुको आधारभूत आवश्यकताहो । तर, यसमा म सहमत छैन । किनभने मेरो विचारमा यौन विलासिताको विषय होइन, शारीरिक आवश्यकता हो र कण्डम पनि विलासिताको साधन होइन,आवश्यकता हो । तर यसलाई विलासिताको वस्तु बनाइएको छ, जसरी यौनलाई मनोरन्जनको सस्तो माध्यम बनाइयो । सेनेटरी प्याड प्रत्यक्ष रुपमा महिलाको स्वास्थ्यसंग सरोकार राख्ने वस्तु हो भने कण्डम अप्रत्यक्ष रुपमा महिलाको प्रजनन स्वास्थ्यसंग सम्बन्धित विषय हो । कण्डमले अनिच्छित गर्भ तथा यौन रोगबाट बचाउँछ।

कण्डमलाई विलासिताको साधनको रुपमा नभई यही कारण निःशुल्क गरिएको थियो र यो निःशुल्क हुनुपर्छ ।
जब सहज रुपमा, निःशुल्क कण्डम उपलब्ध हुँदैन, तब ग्रामिण महिलाहरुमा अनिच्छित गर्भ बस्ने सम्भावना बढ्छ र स्वतः गर्भपतनको दरमा पनि वृद्धि हुन्छ । अव्यवस्थित र धेरै पटकको गर्भपतनले गर्दा महिलाहरुको प्रजनन स्वास्थ्यमा नकारात्मक असर पर्न जान्छ । गर्भपतन गरिएन भने पनि, परिवारको संख्यामा वृद्धि भई गरिब ग्रामिण बस्तिमा झन् गरिबी थुप्रिन्छ । त्यस्तै , घरबाहिर बस्ने श्रीमानहरुले विभिन्न यौनरोग ल्याएको उदाहरण हाम्रो समाजमा प्रशस्तै छन् ।

त्यस्तो अवस्थामा महिलाहरु आफै सचेत भई कण्डमको सहज रुपमा प्रयोग गरेर यौन रोगबाट बच्न सक्छन् । त्यस्तै, श्रीमतीलाई यौन रोग लागेको खण्डमा पनि ग्रामिण श्रीमानहरुले कण्डमलाई निःशुल्क ल्याई आफूहरुबीच उत्पन्न हुने सम्भावित दुरीलाई कम गर्न सक्छन् । यसबाट परिवार विखण्डन हुनबाट बच्न सक्छ।

अर्कोतिर, आधुनिक जीवनशैलीको प्रभावले ग्रामिण समाजमा समेत विवाहपूर्वको शारीरिक सम्बन्ध बढिरहेको छ। हाम्रो समाजले यौनलाई चरित्रसंग जोडेपनि नयाँ पुस्ता यौनमा उदार हुँदै गैरहेको छ । सचेतना नअपनाएर यौनलाई मात्र स्वीकार गर्दा ग्रामिण किशोरी तथा युवतीहरुको जीवन भयावह बनिरहेको छ । केहि दिन अगाडि मात्र, एक गर्भवती प्रेमिकालाई गर्भ बसेकै कारण प्रेमीले हत्या गरेको घटना संचारमाध्यममा छाएको थियो । त्यसैले किशोरकिशोरीहरुलाई कण्डम र सेनेटरी प्याड दुवैको बारेमा अझ चेतना तथा ज्ञान दिनुपर्छ र उनीहरुलाई सेनेटरी प्याड तथा कण्डमको महत्व बुझाउन सक्नुपर्छ । कण्डम र सेनेटरी प्याडको निःशुल्क प्रयोग संगै, यौन रोग, प्रजनन स्वास्थ्यको प्रभावकारी शिक्षा दिइनुपर्छ । यौन विलासिता वा मनोरन्जन होइन, परिपक्क प्रेमको चरम रुप तथा शारीरिक आवश्यकता हो भन्ने बुझाउनुपर्छ ।

जसले गर्दा यौन रोग, किशोरी गर्भपतन, हत्या, आत्महत्या, डिप्रेसन जस्ता घटना कम होउन् ।

कन्डम र सेनेटरी प्याड दुवै, स्वास्थ्यका लागि महत्वपूर्ण र आवश्यकीय वस्तु हुन् । कुन कम महत्व, कुन बढी महत्व र कुनलाई ’फ्री’ गर्ने, कुनलाई ’फ्री’ नगर्ने भन्दा पनि, विलासिताका अरु सामानको करमा कडाई गरेर, भ्रष्टाचार न्यूनीकरण गरेर, महिला सशक्तिकरणका नाममा, ग्रामिण स्वास्थ्यका नाममा कुम्ल्याइने सरकारी पैसामा कडाई गरेर, कण्डम र सेनेटरी प्याड, दुवैलाई ’फ्री’ गरिनुपर्छ । केही स्कुलहरुले सेनेटरी प्याड निःशुल्क उपलब्ध गराइरहेका छन् र केही संघ संस्थाहरुले घरमै सेनेटरी प्याड बनाउन सिकाइरहेका छन् । यस्ता कामलाई अब सरकारी तवरबाट नै संचालित गरिनुपर्छ ।

सेनेटरी प्याडलाई कण्डमलाई जस्तै फ्री गरेर जनस्वास्थ्य अभियानमा लगिनुपर्छ । अस्वस्थ प्याडको प्रयोगले निम्त्याउने यौन रोगले देशकै दक्ष जनशक्तिमा ह्रास ल्याउँछ। महिला सशक्तिकरणका जति नै नारा घन्काए पनि त्यो फितलो हुन्छ। सेनेटरी प्याडको पहुँचले, यात्रा, दैनिक जीवन, काम, विद्यालय, सबैतिर उनीहरु सहज महसुस गर्नेछन्, उनीहरुको प्रजनन स्वास्थ्य राम्रो हुनुका साथै, उनीहरुमा आत्मविश्वास पनि बढेर जान्छ।

यस अभियानले केही हदसम्म महिनावारी सम्बन्धिको गलत धारणा पनि परिवर्तन गर्न मद्दत गर्नेछ। यौन महिला, पुरुष दुवैसंग सम्बन्धित हो र महिलाको यौन स्वास्थ्यले पुरुषको जीवनमा पनि असर पार्छ भन्ने कुरालाई आत्मसात गरेर पुरुषहरुलाई पनि महिनावारी तथा प्रजनन स्वास्थ्य अभियानमा सक्रिय रुपमा संलग्न गराउनुपर्छ । महिनावारी महिलाको सरोकारको विषय मात्र होइन, पुरुष तथा समग्र देशको सरोकारको विषय हो, महिला–पुरुष लगायत समग्र समाज तथा देशको जीवनसंग, देशको समृद्धिसंग सरोकार राख्ने विषय हो ।

Comments

comments