काठमाडौं । संसदीय दलको नेता चयनलगायत विषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक अहिले बसिरहेको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचन सम्पन्न भइसकेका कारण संसदीय दलको नेता चयनका लागि बैठक डाकिएको हो । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बसिरहेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार संसदीय दलको नेता चयन, विधान संशोधन बैठकको मुख्य एजेण्डा रहेका छन् । बैठकमा निर्वाचनमा भोगको पराजय, वाम नेतृत्वमा सरकार बनेपछि कांग्रेसले निर्वाह गर्ने प्रतिपक्षको भूमिकालगायतका विषयमा छलफल हुनेछ ।

बैठकमा पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा निर्वाचित भएका सदस्यहरुको सहभागीता रहने छ । कांग्रेसको प्रतिनिधिसभामा ६३ र राष्ट्रियसभाका १३ गरी ७६ सांसद् छन् ।

कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवासँगै महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले दाबी गर्दै आएका छन् ।

Comments