काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीले देखाएको बाटोबाट आफू अघि बढने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नवनियुक्त प्रधानमन्त्री ओलीले स्वर्गीय मनमोहन अधिकारीको निष्ठा, दृढता र जनताप्रतिको बफादारिता र इमान्दारितालाई पदसँग तुलना गर्न नमिल्ने पनि स्पष्ट पारे ।

शुक्रबार ललितपुरको सानेपास्थित मनमोहन प्रतिष्ठानमा रहेको अधिकारीको शालिकमा श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री ओलीले मनमोहन अधिकारीको साधा जीवन र जनताको सेवामा लागि रहने इमान्दार प्रयास सबैका लागि प्रेरणाको स्रोत भएको पनि स्मरण गराए । प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको रुपमा स्वर्गीय अधिकारीले नेपाल राष्ट्रका लागि असाधारण योगदान दिएको उल्लेख गरे ।

त्यस अवसरमा उनले पुष्पलाल श्रेष्ठले नेपाल राष्ट्र र नेपाली जनताका लागि पदमा नरहेर ठूलो योगदान दिएको समेत बताए ।

प्रधानमन्त्री ओलीले मनमोहन अधिकारीले भारतको स्वतन्त्र संग्राममा समेत सहभागी भएर विश्व मानवजातिकै सेवा गरेको चर्चा समेत गरे ।

Comments

comments