काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी पनि सुरु गरेको छ । निर्वाचन आयोगले विहिबार संसदमा प्रतिनिधित्व गर्ने ५ राजनीतिक दलसँग राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको संचालन र व्यवस्थापनको सम्बन्धमा औपचारिक छलफल सुरु गरेको हो ।

छलफलमा आयोगले फागुन २१ गते राष्ट्रपति र चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने मिति समेत प्रस्ताव गरेको थियो । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको विषयमा आयोगले आफूहरुसँग छलफल गरेको एमाले नेता राजेन्द्र पाण्डेले जानकारी दिए । संघीय संसद गठनसँगै निर्वाचन आयोगले संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको संचालन र व्यवस्थापनका सम्बन्धमा राजनीतिक दलहरुसँग परामर्श सुरु गरेको हो ।

चैत्र भित्र सम्पन्न हुनेगरी राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको संचालन र व्यवस्थापनका सम्बन्धमा राजनीतिक दलहरुसँग परामर्श गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । आयोगले निर्वाचनको मिति प्रस्ताव गरेपनि त्यसको टुंगो भने सरकारसँग छलफल गरेपछि मात्रै लगाउने तयारी पनि गरेको छ । संवैधानिक व्यवस्था अनुसार संघीय संसदको गठन भएपछि राष्ट्रपति र उपराष्ट्रपतिको पनि निर्वाचन गर्नुपर्ने हुन्छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरु मतदाता रहनेछन । बहुमतीय प्रणालीबाट राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित हुने संवैधानिक व्यवस्था छ । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको खर्च विवरण बुझाउन ढिलाई नगर्न पनि सचेत गराउँदै आएको छ ।

Comments

comments