मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा जारि न्याभ कप क्रिकेट टुर्नामेन्ट २०१८ को फाइनलमा रोयल राइनोज र हिमालयन हुर्रिकेन भिड्ने पक्का भएको छ। आगामी १८ फेब्रअरी , आईतबारका दिन उपाधिको लागि यी दुई क्लब बीच भिडन्त हुने भएको हो।

गत ७ जनवरी देखि सुरु भएको १३ औं न्याभ क्रिकेट टुर्नामेन्टमा नौं क्लबहरुले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये रोयल राइनोज, ईस्टर्न ब्लुज, हिमालयन हुर्रिकेन र गोर्खाली क्रिकेट क्लब सेमिफाइनलमा पुग्न सफल भएका थिए।

पहिलो सेमीफाइनलमा रोयल राइनोज र ईस्टर्न ब्लुजबीच प्रतिस्पर्धा भएको थियो। उक्त प्रतिस्पर्धामा ९ रनले रोयल राइनोजले जीत हासिल गर्यो भने रोयल राइनोजका निरज श्रेष्ठ म्यान अफ द म्याच घोषित भए। त्यस्तै, दोस्रो सेमीफाइनलमा हिमालयन हुर्रिकेन र गोर्खाली क्रिकेट क्लब बीच प्रतिस्पर्धा भएको थियो। उक्त प्रतिस्पर्धामा ४ रनले हिमालयन हुर्रिकेनले जीत हासिल गर्यो भने गोर्खाली क्रिकेट क्लबका सागर पौडेल म्यान अफ द म्याच घोषित भए ।

सेमीफाइनलका विजेताहरु रोयल राइनोज र हिमालयन हुर्रिकेन आगामी १८ फेब्रुअरीमा tw blake park, preston मा बिहान १० बजे देखि उपाधी जित्नको लागि मैदानमा उत्रिनेछन्। न्याभले यस टुर्नामेन्टको मूख्य प्रायोजक एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज लगायत सम्पूर्ण प्रायोजक, सहभागी टिमहरु, दर्शकहरु तथा सम्पूर्ण सहयोगीहरुलाई विशेष धन्यवाद दिंदै फाइनल खेलमा पनि उत्साहका साथ सहभागी भइदिन सबैलाई अनुरोध गरेको छ।

Comments

comments