काठमाडौं । यो वर्षको सर्वाधिक प्रतिक्षित फिल्मको रुपमा चर्चामा ल्याइएको कृ ले दर्शकहरुलाई मात्र होइन निर्मातालाई समेत निराश बनाइदिएको छ ।

अनमोल केसीको स्टारडम र फिल्मले पाएको हाइपका कारण उधुम मच्चाउने व्यापार गर्ने आशा विपरित हलको दर्शकको उपस्थिति ठीकठाकै भएपछि निर्माता र वितरकलाई झट्का लागेको छ । यता प्रोमो हेरेर हलमा पुगेका दर्शकहरु पनि निराश भएर फर्किन बाध्य छन् ।

भन्नैपर्दा युवापुस्तामा क्रेज भएका अनमोलमात्रै यो फिल्मको बलियो पक्ष हो, बाँकी सब बेकार । पूरै फिल्मको मेहनत उनलाई एक्सन र चकलेटी दुवै हिरोका रुपमा स्थापित गराउन खर्च गरिएको छ । तर बलियो कथा र पटकथाको अभावमा दुवै प्रयास असफल भएको छ । यसअघिका फिल्महरुमा रोमान्टिक लभरव्वाइमा देखिदै आएका अनमोल कृमा भने एक्सन भूमिकामा पनि छन् । यसकालागि उनले आफ्नो शरीरलाई सिक्सप्याक बनाएका छन् । तर उनको एक्सन अवतार फितलो र अस्वभाविक लाग्छ । यही कारण कृ नराम्रोसित डुबेको छ ।

पूरै फिल्म हेर्दा निर्माताले अनमोल भन्दा अरु कसैलाई महत्व दिएको देखिदैन । मोडलका रुपमा चर्चित रहिसकेको नायिका अदिति बूढाथोकी उपेक्षाको पहिलो शिकार बनेकी छिन् । फिल्ममा उनलाई विना मेक अप देखाइएको छ ।

अनमोल छायाँमा पर्ने डरले डेब्यु गरिरहेकी अदितीलाई जानाजान मेकअप बिना उतारिएको हो कि भन्ने आशंका समेत गर्न थालिएको छ ।
रिलिज हुनुभन्दा दुई साता अघि स्कटल्यान्डमा सुट गरिएका सिनबाहेक अदितिको अनुहारलाई चाउरी परेको देखाइएको छ । फिल्मको पटकथा सबैभन्दा कमजोर छ ।

दुई वर्षअघि फिल्म बनाउने घोषणा हुँदा फिल्मको नाम ‘केशर’ राखिएको थियो । ‘केशर’ फिल्मकी हिरोइनको नाम हो । तर पछि नाम परिवर्तन गरी ‘कृ’ बनाइयो । फिल्मभित्र एउटा पुलिस पात्रको माध्यमबाट ‘कृ’को अर्थ बदला अर्थात् रिभेन्ज हो भनेर प्रष्ट पार्न खोजिएको छ । तर स्लोभाक भाषामा ‘कृ’को अर्थ रगत हुन्छ । संसारको कुन भाषामा ‘कृ’को अर्थ बदला हुन्छ,फिल्मभित्र कुनै लजिक छैन । फिल्मभित्र यस्ता विना लजिकका सिक्वेन्सहरुको लाम नै लगाइएको छ । यसले फिल्मलाई नै हावा बनाइदिएको छ ।

यो फिल्म असफल भएर निर्मातालाई त घाटा लाग्छ नै त्यो भन्दा बढी घाटा अनमोललाई लाग्ने पक्का छ । किनभने यसले उनको स्टारडम नै दाउमा परेको छ । अहिलेसम्म चार फिल्म खेलेका अनमोलको सबैभन्दा कमजोर फिल्म यही कृ हो ।

Comments

comments