मेलबर्न । पश्चिम अष्ट्रेलियाको पर्थमा दोश्रो पटक नेपाल महोत्सव हुने भएको छ ।

नेपाली भाषा, कला, संस्कृति र पर्यटनलाई पश्चिम अष्ट्रेलियामा प्रबद्र्धन गर्ने उदेश्यले आगामी मार्च महिनामा पर्थमा दोश्रो पटक नेपाल महोत्सवको आयोजना गरिन लागेको हो । गैर आवासीय नेपाली संघ राज्य समन्वय परिषद पश्चिम अष्ट्रेलियाको आयोजनामा हुन लागेको सो ’नेपाल फेस्टिभल पर्थ–२०१८’ मार्च ३१ तारिखका दिन स्थानीय ’एलिजाबेथ की’ मा सम्पन्न हुँदैछ ।

एक पटकको नेपाली सधैंको नेपाली भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै संसारभर नेपाली भाषा, कला र संस्कृतिलाई निरन्तर प्रबद्र्धन गर्दै आएको एनआरएनएले अष्ट्रेलियाका विभिन्न राज्यहरुमा हरेक दुई दुई बर्षमा ’नेपाल महोत्सब’ आयोजना गर्दै आएको छ । नेपाल र नेपालीलाई चिनाउने महत्वपूर्ण कार्यलाई निरन्तरता दिदै गैर एनआरएनए राज्य समन्वय परिषद पश्चिम अष्ट्रेलियाले चार बर्ष पछि पुनः पर्थमा दोश्रो पटक नेपाल महोत्सव आयोजना गर्न लागेको हो ।

महोत्सव आयोजनाकालागि स्थानीय नेपाली संघसस्था र नेपाली समुदायसँग सहकार्य गर्दै महोत्सव मूल आयोजक समूह गठन गरि महोत्सवको प्रारम्भिक तयारी समेत शुरु गरिसकेको एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा महोत्सवका संयोजक दीपक शर्माले जानकारी दिनुभयो ।

महोत्सवमा नेपालको प्रतिनिधित्व गर्ने सांस्कृतिक, प्राकृतिक तथा ऐतिहासिक महत्व बोकेका गौरवशाली सम्पदाहरुको फोटो प्रदर्शनी, नेपाली हस्तकला, चित्रकला तथा पर्यटन प्रबद्र्धन गर्ने खालका सामाग्रीहरुको स्टल, बिभिन्न भाषाभाषी र जात जातिहरुलाई झल्काउने पोशाकहरुको प्रदर्शनी, नेपाली खाना लगायतका स्टलहरु रहने उहाँले बताउनुभयो । महोत्सवमा नेपालको चर्चित सांगीतिक समूह कुटुम्बको विशेष प्रस्तुति रहने भएको छ । साथै स्थानीय नेपाली कलाकरुहरुको सांस्कृतिक र सांगीतिक प्रस्तुति पनि रहनेछन् ।

महोत्सवले पश्चिम अष्ट्रेलियाको बहुसास्कृतिक समुदायमा एकता र सामाजिक सहिष्णुताको सन्देश प्रवाह गर्दै नेपाली पर्यटन, कला र संस्कृति प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । यसबाट नेपालमा लगानी र पर्यटनको बढोत्तरीमा समेत ठूलो योग्दान पुग्ने आयोजकको दाबी छ । महोत्सवलाई १० हजार बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।

Comments

comments