काठमाडौं । सरकारले राष्ट्रकवि मावधप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको उपाधिसहितको सम्मान प्रदान गर्ने निर्णय गरेको छ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले घिमिरेलाई मानार्थ सहायक रथी बनाउने निर्णय गरेको हो।

नेपाली सेनाको जङ्गी अड्डाको सिफारिसमा शुक्रबारको मन्त्री परिषद्ले यस्तो निर्णय गरेको हो। ‘जंगी अड्डाले एक हप्ताअघि राष्ट्रकविलाई मानार्थ सहायक रथीको दज्र्यानी सहितको सम्मान दिने गरी सिफारिस पठाएका थियौं’ प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपालखबरसँग भने, ‘सरकारले निर्णय गर्‍यो, यसप्रति जङ्गी अड्डा आभारी छ।’

प्रधानसेनापति क्षेत्रीका अनुसार सेना दिवसका अवसरमा राष्ट्रकवि घिमिरेलाई सहायकरथीको दज्र्यानी प्रदान गरिनेछ। ‘सय वर्ष पुग्न लाग्नु भएका राष्ट्रकविले रच्नु भएका राष्ट्रवादी गीतहरु नेपाली सेनाका लागि उत्प्रेरणा जगाउने खालका छन्’ क्षेत्रीले भने, ‘राष्ट्रकवि जीवित छँदै दिइएको सम्मानको महत्व हुने ठानेर यस्तो सिफारिस गरेका हौं।’

सरकारले राष्ट्रलाई विशिष्ठ योगदान दिने गैरसैनिक व्यक्तिलाई सेनाको मानार्थ पदवी दिने निर्णय गर्न सक्छ। गैरसैनिक व्यक्ति भएपनि यस्तो उपाधि यसअघि प्रधानमन्त्री मातृकाप्रसाद कोइराला, भूपालमानसिंह कार्की र विश्वबन्धु थापाले पाएका थिए।

त्यसमध्ये कोइरालालाई उपरथी ९मेजर जनरल०, कार्की र थापालाई सहायकरथीको दज्र्यानी दिइएको थियो। २००७ को क्रान्तिमा भूमिका निर्वाह गरेको भन्दै क्रान्तिपछिको सरकारले मानार्थ जनरलको उपाधि दिएको थियो।

यसअघि राष्ट्रिय गानमा संगीत दिएका वरिष्ठ संगितकार स्वर्गीय अम्बर गुरुङ सेनाको मानार्थ महासेनानीको पदवी पाएका थिए। नेपाली सेनाको मानार्थ पदवी पाउने व्यक्तित्वलाई विशेष समारोहकाबीच सैनिक पोशाकमै सम्मान गर्ने प्रचलन छ । राष्ट्रकविलाई प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सेना दिवस अर्थात् शिवरात्रीका दिन विशेष समारोहकाबीच मानार्थ पदवीबाट सम्मान गर्नेछन्।

Comments

comments