काठमाडौं । नेपाल–भारतबीच रेल गुड्ने सम्भावना बढेको छ । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३४ किलोमिटर रेल्वे लाइन निर्माण सम्पन्न हुने अवस्थामा पुगेको छ ।

जयनगर–जनकपुर–बर्दिबास रेल्वेअन्तर्गत यतिखेर धमाधम रेलको लिक राख्ने काम भइरहेको छ । जयनगरबाट प्रदेश २ को राजधानी जनकपुरधामको दूरी जम्मा २९ किलोमिटर छ । सरकारले रेलको प्रबन्ध गरे यहि गतीमा काम भएमा आठ महिना पछि आगामी कात्तिकदेखि रेल गुड्न सक्नेछ ।

भारतले आगामी अक्टोबरमा पहिलो खण्ड सरकारलाई बुझाउँदै छ । त्यसले रेल कुद्ने अवस्था बनाउने रेल विभागले जनाएको छ ।

विभागको अनुसार जयनगरदेखि बर्दिबाससम्म ७९ किलोमिटर लम्बाइको रेल्वे मार्ग तीन खण्डमा बन्दै छ । जयनगरदेखि कुर्थासम्मको पहिलोे खण्डमा पर्ने ३४ किलोमिटर आगामी कात्तिकमा निर्माण सम्पन्न हुनेछ । सन् २०१९ मा कुर्थादेखि भंगाहा (बिजलपुरा) सम्म १८ किलोमिटर रेल्वे मार्ग निर्माण सम्पन्न हुनेछ । बिजलपुराबाट बर्दिबाससम्मको १७ किलोमिटर रेल्वे मार्ग सम्पन्न हुन थप तीन वर्ष लाग्ने अनुमान गरिएको छ ।

१९९४ देखि जनकपुर–जयनगरमा चल्दै आएको रेल तीन वर्षअघि बन्द भएको थियो । विगतमा जयनगरबाट बिजलपुरासम्म रेल चल्थ्यो । राणाकालिन सरकारले ब्रिटिस भारत सरकारलाई काठ पैठारी गर्न रेल बनाइएको थियो । त्यही रेलमा रेलमा यात्रु ओहोरदोहार गर्ने गरेका थिए ।

सन् २०१० मा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमणका वेला भारतले जयनगर–जनकपुर–बर्दिबास रेलमार्ग निर्माण गर्ने सहमति भएको थियो । यसबाहेक नेपाल र भारतबीच थप चारवटा सीमापार रेल्वे निर्माणको सम्झौता भएको थियो ।

Comments

comments