काठमाडौं । सरकारी निकायले नै उपत्यकामा सञ्चालित वातावरणमैत्री विद्युतीय सवारीलाई निरुत्साहित गरेको छ। सरकारले बढ्दो वायु प्रदूषण घटाउन वातावरणमैत्री सवारीसाधनलाई प्राथमिकता दिने भने पनि यातायात व्यवस्था विभागले निरुत्साहित गरेको हो। अन्नपूर्ण पोस्ट्मा समाचार छ ।

विभागले वातावरणमैत्री सवारी विस्तार गरी नेपाल भित्र्याउन, दर्ता, नविकरण र रुट दिन समन्वय नगरी सञ्चालनमा अवरोध गर्दै विद्युतीय सवारीलाई निरुत्साहित गरिरहेको छ। विभागले अत्याधुनिक सुविधासम्पन्न भन्दै डिजल र पेट्रोलबाट सञ्चालित सवारी भित्र्याउन सघाउँदै आएकाले यस्ता सवारी भित्रिने दर दैनिक बढ्दो छ।

तर २०५२ सालदेखि सञ्चालित विद्युतीय सफा टेम्पु, ग्यासबाट सञ्चालित टेम्पु र माइक्रो बिस्तार गर्न रोकेको छ। विभागले ब्याट्रीबाट सञ्चालन हुने सफा टेम्पु थप्ने र चारपांग्रेमा बिस्तार गरी तत्काल यस्ता ५ सय सवारी ल्याउने मागसहित दिएका निवेदन ६ महिनादेखि फाइल रोकेको व्यवसायी बताउँछन्।

अहिले ललितपुर र काठमाडौंमा २२ वर्षदेखि ७ सय १४ वटा सफा टेम्पु सञ्चालन हुँदै आएका र ३० वर्ष आयु तोकेकाले नयाँ थप्न माग गरेको वातावरणमैत्री यातायात व्यवसायी राष्ट्रिय महासंघका सदस्य होमप्रसाद पोख्रेलले बताए। विद्युतीय परिवहन व्यवसायी संघका अध्यक्षसमेत रहेका पोख्रेलले तीन र चारपांग्रेसहित ५ सय सवारी थपेर स्वरोजगार व्यवसाय सञ्चालन गरी सफा र स्वच्छ वातावरण कायम गर्ने लक्ष्य राखेको बताए।

सफा टेम्पु २८ वटा चार्जिङ स्टेसन राखेर लगनखेल–बानेश्वर–कोटेश्वर–पुल्चोक, सुन्धारा–छाउनी, सुन्धारा–गल्फुटार, सुन्धारा–चावहिल–तीनचुली, सुन्धारा–सिनामंगल, सुन्धारा–बत्तिसपुतली–अनामनगर गुड्दै आएका छन्।

विभागले चक्रपथमा सञ्चालन अनुमति दिन र सवारी थप्न स्वीकृति नदिएको व्यवसायीको गुनासो छ। विभागले स्वीकृति दिए सफा टेम्पुले १६ सिट क्षमताका चारपांग्रे गाडी ल्याउने तयारी पूरा गरिसकेको छ। व्यवसायीले लिड एसिड ब्याट्रीले समस्या भएकाले लिथियम ब्याट्री खरिदमा भन्सार छुट दिन सरकारसँग माग गरेका छन्। सरकारले अहिले लिड एसिड ब्याट्रीमा भन्सार छुट दिँदै आएको छ।

Comments

comments