मेलबर्न । जीवनमा सफलता हासिल गर्न चाहने व्यक्तिले संसारको जुनसुकै कुनामा गएतापनि संघर्ष गर्नैपर्छ। अष्ट्रेलियामा आउने कैयौं नेपालीहरुले यस्तै संघर्ष गरेर आफ्नो जीवनमा करियरको राम्रो बाटो बनाइरहेका छन् । हाल अष्ट्रेलियामा सेनामा आफ्नो करियर बनाउन व्यस्त रहनुभएका सोम तामाङ्ग यस्तै व्यक्तिहरुमध्ये एक हुनुहुन्छ ।

नेपालको चितवन घर भएका सोम सन् २००८ मा विद्यार्थी भिसामा अष्ट्रेलिया आउनुभएको हो। अष्ट्रेलिया आएर कुकरी पढ्न थाल्नुभएका उहाँले सुरुमा भाँडा माझ्ने र त्यसपछि सेफको काम गरेर चार वर्ष बिताउनुभयो। त्यसपछि कमाइ, पढाइ, परिवारबीच सन्तुलन मिलाउनको लागि उहाँले ट्याक्सी ड्राईभिङ्गको काम रोज्नुभयो र उक्त काममा पनि चार वर्ष बिताउनुभयो।

ट्याक्सी ड्राइभिंग पछि उहाँको करियरको बाटो सैन्य क्षेत्र तर्फ मोडियो। उहाँ भन्नुहुन्छ, ” सैन्य सेवातिर प्रवेश गरेपछि सुरुमा तालिम लिनुपर्ने हुन्छ। त्यो तालिम निकै नै कडा हुन्छ। शारीरिकसंगै मानसिक थकान पनि हुन्छ। त्यसमाथि अझ कहिल्यै नदेखेको प्रविधि, हातहतियारहरुको जानकारी र त्यससम्बन्धि तालिम लिनुपर्छ। म समुद्री विभागको सेना हुनाले समुद्र सम्बन्धि ज्ञान, पौडिने ज्ञान सबै हुनुपर्छ। सुरुको तीन महिना त मलाई एकदमै गाह्रो भयो। तर गर्नु नै पर्छ भनेर मेहनत गरिराखें ।”

सोमका अनुसार अष्ट्रेलियामा सैन्य क्षेत्रमा भर्ति हुनको लागि अष्ट्रेलियाको नागरिकता हुनुपर्छ, प्रवेश परिक्षामा राम्रो अंक ल्याउनुपर्छ र विभिन्न अरु परिक्षा दिनुपर्छ। उक्त परिक्षाको अंकको आधारमा कुन विभागमा उपयुक्त हुन्छ निर्णय गर्छ र उक्त विभागमा व्यक्ति आवश्यक हुँदा बोलाउँछ। समुद्री सेनामा ब्यारेकमा नै बसेर काम गर्नुपर्दैन। ९ देखि ५ को समयमा काम गर्ने वातावरण हुन्छ।

हाल न्यु साउथ व्ह्लेसमा कार्यरत सोम भन्नुहुन्छ, ” सेनाको रुपमा अरुले सम्मान देखाउँदा गौरव महसुस हुन्छ। यदि नेपाली कोही यहाँ भर्ती हुन चाहनुहुन्छ र आवश्यक योग्यता पुग्छ भने प्रक्रियामा जानुहोस् । समुद्री सेनामा एकदमै राम्रो करियर छ। “

Comments

comments