कोलम्बो । निर्वासन जीवन बिताइरहेका मालदिभ्सका प्रतिपक्षी दलका नेता मोहम्मद नशीद आउँदो निर्वाचनमा राष्ट्रपति उम्मेदवार बन्ने भएका छन् ।

नशीदमाथि लागेको फौजदारी अभियोग त्यहाँको सर्वोच्च अदालतले उल्टाइदिएपछि उनलाई राष्ट्रपतिको उम्मेदवार बन्ने बाटो खुलेको हो ।

अदालतले विहीबार नशीदमाथि राजनीतिक उद्देश्यले त्यस्तो अभियोग लगाइएको जनाउँदै त्यसलाई उल्ट्याएको हो । अदालतको फैसला लगत्तै नशीदले उम्मेदवार बन्ने घोषणा गर्दै आवश्यक तयारी समेत गर्न थालेका छन्।

‘म प्रतिस्पर्धा गर्नसक्छु र पतिस्पर्धामा उत्रिनेछु’ उनले भने, ‘ निर्वाचनलाई समावेशी, स्वच्छ तथा निश्पक्ष बनाउनका लागि पूर्ण अन्तर्राष्ट्रिय पर्यवेक्षणका उचित कार्यक्रमसहित उचित कार्यक्रम ल्याउनुपर्छ ।’

नसीदलाई सन् २०१५ को विवादास्पद निर्णयमार्फत दोषी ठहराउँदै कुनै पनि निर्वाचनमा सहभागी हुन पाउने अधिकारबाट बञ्चित गरिएको छ ।

नसीदले अदालतको निर्णयको सम्मान गर्दै सरकारको आलोचना गरेका छन् । उनले विभिन्न आरोपमा जेल राखिएका नेतालाई तत्काल रिहा गर्न समेत सरकारसँग आग्रह गरेका छन् ।

अदालतको फैसलापछि प्रतिपक्षी दलका नेता तथा कार्यकर्ताहरूले खुशियाली मनाउँदै प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागी नेता तथा कार्यकर्ता र प्रहरीबीच केही स्थानमा झडप भएको थियो । एएफ्पी

Comments

comments