नेपाली ढिडोको छुट्टै महत्व र शान छ,नेपाली रेष्टुराहरुमा । नेपाल भित्र मात्र होइन नेपाल बाहिर पनि कुनै समय गरीव नेपालीको खानाको रूपमा अपहेलित नेपाली ढिडोले शानको खानाको रूपमा इज्जत पाउन थालेको छ । यसैक्रममा अष्ट्रेलियामा पनि नेपाली ढिडो लोकप्रिय खाना बन्दैछ ।

एक त नेपालको ज्यादैं मौलिक खाना, दोस्रो स्वास्थ्यबर्धक, त्यसकारण अहिले अस्ट्रेलियामा रहेका नेपाली रेस्टुरेन्टहरुले पनि ज्यादैं महत्वका साथ यो परिकार आफ्नो मेनुमा राख्न थालेका छन् ।

अष्ट्रेलियामाको सिड्नीको प्रमुख केन्द्र सिड्नी सिटीमा थकाली परिकार भित्रयाउने ‘मुग्लान नेपाली रेस्टुरेन्ट’का मुख्य सेफ एवं सञ्चालक आशिष थकाली भन्छन्, ‘हामी यहि ढिडो खाएर हुर्कियौं । साथै यो हाम्रो आफ्नो थकाली परिकारको चिनारी हो । स्वास्थ्यको हिसाबले ज्यादैं पौष्टिक भएकोले हामीले हाम्रो रेस्टुरेन्टको मेनुमा बिशेष रुपले राखेका हौं ।’ उनी थप्छन्, ‘ग्राहकहरुबाट धेरै राम्रो प्रतिक्रियाहरु आएको छ । ढिडोलाई खुब मन पराउनु भएको छ । त्यसैले हौसला मिलेको छ ।’

यस्तैगरी, ढिडो मेलबर्नका केहि नेपाली रेष्टुराहरुमा पनि खान पाइन्छ । तर तपाईसंग समय छ भने घरमै बनाएर खाँदाको आनन्द बेग्लै छ । त्यसैले हिमालयन कंगारुको खानामा यसपटक फापरको ढिडो कसरी पकाउने भन्ने बारे जानकारी राख्दैछौ ।

ढिडो यसरी पकाउनुहोस

२/३ जनाको लागि

सामग्री :
१ लिटर – पानी
२०० ग्राम -फापरको पिठो
२० मिलिलिटर- शुद्ध घिउ

तरिका-

-गहिरो भाडामा पानी राखी आगोमा तताउने (कसौडी भए बेस)
-पानीमा अलिकति १ चिम्टी जति पिठो राखी पानी राम्ररी उमाल्ने
-राम्ररी उम्लेको पानीमा फापरको पिठोलाई विस्तारै हाली पन्युले चलाउने
-घिउ राखीलगातार राम्ररी ५ मिनेट जति चलाउने (यो प्रक्रियालाई नेपाली ठेट शब्दमा ढिडो मस्काउने वा ओडाल्ने भनेर भनिन्छ ।)
-सानो आगो गरेर ५/७ मिनेट पकाउने
-त्यसपछि तात्तातै ढिडोलाई अरु झोलयुक्त तरकारी तथा मासुसँग खान सकिन्छ ।

घरमै ढिडो पकाउँ,स्वादले खाउँ र नेपाली हुनुमा गर्व गरौँ ।

Comments

comments