– प्रतिमा भट्ट
एकजना समाजको प्रतिष्ठित व्यक्तिसंग निकै लामो समयको अन्तराल पछि भेट भएको थियो । समयले जुराएको नसोचेको भेट थियो। कुराकानी अगाडी बढाउने क्रममा उहाँले फ्याट्ट सोधिहाल्नु भयो , ” प्रेम दिवस आयो नि , के छ आफ्नो ?” । मैले उहाँको भनाइको तात्पर्य बुझिहालें तर नबुझे झैँ सोधे ,” भन्नाले ? “। उत्तर आयो, ” आफ्नो उहाँ हुनुहुन्न ? कि अझै एक्लै ?” ।

प्रेम दिवस नजिकिदै गर्दा सबैको चासोको बिषय मेरो ‘प्रेमजीवन’ । फेब्रुअरी महिनाको पहिलो दिन लागेसंगै वरिपरिकाबाट धेरै पटक सोधिने प्रश्न ,”मेरो उहाँ हुनुहुन्छ?” मैले मुस्कुराउँदै जवाफ दिएँ,” अझै आइसक्नुभएको छैन उहाँ ।” तत्काल मेरो उत्तरमाथि प्रतिप्रश्न तेर्साउँदै उहाँले जोड्नुभयो, ” गत वर्षपनि तपाईं र मेरो भेट हुँदा, सिंगल छु भन्नुभएको थियो अनि अहिले पनि ?”

हाँसोको मामिलामा कसैले जित्न नसक्ने म , बाटोमा जोडले हाँस्दै भनें,” अब अर्को वर्षपनि यहि भन्छु। हाहा..!” उहाँले हरेक तरहबाट मेरो प्रेम जीवनमा चासो देखाउँदा म अचम्मित भईन । बरु मौका खोजिरहें उहाँले व्यक्त गरेको हरेक चासोको खण्डन गर्न सकूँ। ताकी अर्को वर्ष उहाँलाई भेट्दा सोहि कुरा नदोहोरियोस् ।”

उहाँले केहि समय अगाडी ”हिमालयन कंगारु” मा प्रकाशित मेरो ” अष्ट्रेलियन पिआरको लागि तयार छैनन् स्मृतिहरु आफ्नो आत्मसम्मान बेच्न” भन्ने शिर्षकको लेख पढ्नुभएको रहेछ । उहाँले सोध्नुभयो,” प्रतिमा जी , तपाईको लेख कसको जीवनको भोगाई हो ?”। मैले उत्तर दिए ,” यहाँ बस्ने म अनि म जस्ता सम्पूर्णको” । ” किन-किन मलाई हजुर एकदम नारीवाद लाग्छ, हजुरको हरेक लेख पुरुषहरुप्रति आक्रोसित हुन्छन्”, उहाँले यति भन्न नपाउँदै “के निउ पाउ कनिका केलाऊ” भइरहेको मैले घुमाउरो पाराले छोरा मान्छे तर्फ कुरा मोडे।अनि हाम्रो बीचमा यही शिर्षकमा बहस चल्यो ।

उहाँले भन्नुभयो ,” हजुर हरेक चोटी हामी पुरुषहरुप्रति आपत्ति जनाउनुहुन्छ , तर आजकल हामी पुरुषहरुमा भन्दा बढी खराबी महिलाहरुमा छ” । ” मेरा कुनैपनि लेखमा शतप्रतिशत पुरुष गलत अनि महिला सहि भनिएको छैन । थाहा छ , कोहि पनि पूर्ण हुँदैन । तर, अझै पनि हाम्रो समाजमा महिलालाई हेर्ने दृस्टीकोण अनि उनीहरुलाई गर्ने व्यवहारमा त्यति परिवर्तन भित्रिसकेको छैन जति हुनु पर्ने हो । र, म यही कुराको आवाज हरेक चोटी मेरा लेखहरुमा उठाउने गर्छु ।” मैले छोटो समेटिएको उत्तरले बहस सरल बनाउने प्रयास गरे । तर, उहाँ आफै छोरा मान्छे ,आफ्नै अगाडी आफू भन्दा सानो छोरी मान्छेले छोरा मान्छेको बिषय उठाएर त्यसरी शब्दको प्रहार गरेको सायद सहन भएंन । हाम्रो बहस झन् चर्कियो।

उहाँले के सोच्नुभयो खै , फेरि म तिर हेर्दै मेरो जीवनमा कोहि छोरा मान्छे छ या छैन भन्ने जिज्ञासा राख्नुभयो । मैले छैन भन्नु भन्दापनि आफ्नो आज सम्मको जीवनमा भेटेका हरेक छोरा मान्छेको चित्रण गर्ने निधो गरें । यसैमा मैले बालापन देखिको लम्बेतान कहानी सम्झिन थालें….

सायद म कक्षा ‘छ’ मा पढ्थे । हजुरबुवाले घर छेउको बारीको डिलमा कुर्सी राखेर बाटोमा हिड्ने काकीहरुलाई प्राय सधै जिस्काउनु हुन्थ्यो । हजुरबुवा हजुरआमा भन्दा निकै बूढो देखिनु =हुन्थ्यो । मलाई थाहा भएसम्म हजुरआमा ‘साठी’ बर्षको हुँदा हजुरबुवा ‘असी’ कटी सक्नु भएको थियो । सधै जसो घरको श्रीमती अर्थात मेरी हजुरमासंग मन नमिल्ने मेरो हजुरबुवा बाहिरी काकीहरूसंग मस्त रमाउदै जिस्केको देख्दा मलाई अनौठो लाग्नु स्वभाविक थियो । उता धारामा काकीहरुले कुरा गरेको पनि सुन्थे , छिमेकी काका कुन्नि कसको छोरी संग सल्केका छन् भन्ने । कच्चा उमेरको दिमाग मेरो, यस्ता शब्दहरु कहिल्यै बुझ्न सकिनँ। उमेर बढ्दै जाँदा , दिमाग संगसंगै मन पनि परिपक्क भएझै लाग्यो । हजुरबुवाको गतिबिधि अनि छिमेकी काकीहरुले धारामा गरेको कुरा सबै बुझ्ने भएँ। विस्तारै माया , वैवाहिक सम्बध, अनि सामाजिक रितीथिती सबै बुझ्दै गएँ । यति मात्र कहाँ हो र ! ‘लव म्यारिज’, ‘अरेन्ज म्यारिज’ लगायतका शब्दहरु अब मेरो लागि कुनै अनौठो रहेनन् । उल्टो हजुरबुवा र आमाको बीस वर्षे उमेर भिन्नतालाई लिएर प्रश्नचिन्ह खडा गर्न सक्ने भएँ ।

ममीले मैले राती कपाल कोरेर सुत्न लाग्दा जहिले कुरा जोड्नुहुन्थ्यो, ” राती कपाल कोर्नु हुन्न बूढो पोई पर्छ” । हुनत त्यो उमेर नै त्यस्तै , जिज्ञाशा अनि कौतुहलता बाहेक केहि नहुने । आधुनिकताको प्रभावमा हुर्किएकी म, कहाँ रोज्थें र हजुरबुवा र आमाको जस्तो सम्बन्ध । प्रतिउत्तरमा ममीलाई भन्थे हेर्दै जानु ,”हजुरको ज्वाई एकदम हिरो हुनेछ , अग्लो , बल्कि ज्यान भाको , अनि याब्स भको , गित संगीतमापनि रुची राख्ने एकदम रकिंग खालको ।” ममीले हास्दै नौटंकी भन्नु हुन्थ्यो ।

जीवन अनि मायाको परिभाषा बुझ्न हाम्रो यो जूनी अपुग हुने रहेछ । किशोरावस्थाको त्यो सोंच थाहा छैन जीवनको कुन खाल्डोमा पुरियो । माया त एउटा मन देखि अर्को मन सम्मको दूरी रहेछ । जुन दिन पार गरिन्छ , मात्र तरिन्छ । रुपरंग ,उमेर, कालो, गोरो छाला , झरेको दात, चाउरी परेको गाला , यी सबै कुरा मायामा हावि नहुने रहेछ । माया सम्बन्धिको मेरो काँचो सोंच पाकेर परिपक्क भयो तर , समाज हरेक दिन अपरिपक्व ।

हरेक दिन मायालाई गहिरिएर बुझ्न थालेकी म , जब बुझें , बिस्तारै टाढिन थालें । कारण थियो , घरमा सबै कुरा पुर्याउने , माया गर्ने श्रीमतीलाई बेवास्ता गरि असी वर्ष हुँदा पनि तरुनी काकीहरू माथि नजर लगाउने मेरो हजुरबुवा, अनि घरमा श्रीमती र बाल बच्चा हुँदाहुँदै घर बाहिर ‘म एक्लै हो’ भन्दै अरु नारीहरुसंग रात बिताउने मैले जीवनमा भेटेका पुरुषहरु । एउटी नारीले आफ्नो सर्वश्व सुम्पिन्छिन् , श्रीमान अनि परिवारको लागि । आफू दलिन भएर आफ्नो श्रीमानलाई उचाईमा पुर्याउँछिन् । तर, समाज अनि समाजमा बसेका पुरुषत्व बोकेका व्यभिचारी पुरुषहरुको कारण त्यो सफलताको श्रेयबाट उनि हरेक क्षण बन्चित रहन्छिन् । एउटा नारी आफ्नो विश्वास , घमण्ड, आफ्नो इज्जत , अनि आत्मसम्मान सबै समर्पण गरि छोरा मान्छेको अगाडी नांगीन्छीन् , तर उपहारमा उनको लागि सयौ अविश्वास अनि परपुरुषको नाम उनको नामसंग जोडिएर आउँछ।

केहि समय अगाडीमात्र म दिदिहरुसंग डालसफोर्ड जाँदा यमी दिदीले हाम्रो संवादको क्रममा भन्नु भएको थियो , ” नानी तिम्रो जिन्दगीमा तिमीले सफलता हासिल गर्दा मात्र एउटा छोरा मान्छे खुशी हुन्छ अनि त्यो तिम्रो बाबु हो” । दिदीको यो भनाइले मेरो मनमा चिसो पसेको थियो । नभन्दै मेरो जीवनमा पनि पुरुषहरु नआएका हैनन्। कति साथीको रुपमा आए , कोहि प्रेमी बनेर। तर , हरेक कोही आफ्नो उद्देश्यका साथ आए । जीवनमा केहि गर्नु पर्छ भन्ने उत्प्रेरणा सबैभन्दा बढी मलाई मेरो बाबाबाटै मिलेको छ । महिला घर भित्र मात्र सिमित होस् भन्ने हाम्रो समाजमा श्रीमान भन्दा उच्च स्थानमा श्रीमती पुगेको हेर्न रुचाउनेको संख्या अझपनि दुई हातको औलामा सिमित छन् । ”

मैले यति भनिसकेपछि हाम्रो बहस केही शान्त भयो । उहाँले निकै सोचेर महिला पिडित पुरुषहरुको व्याख्या गर्न थाल्नु भयो । मैले महिला पिडित पुरुषहरु हुनुहुन्न भन्न खोजेको हैन । सधै समय अनि परिस्थिति हामी अनुकुल नहुन सक्छ । कतिपय नारीहरु विवश हुन्छन , नचाहदा नचाहदै समय अनि परिस्थितिको सिकार हुन पुग्छन । तर, यथार्थ केलाएर हेर्ने नै हो भने सयमा पन्ध्र प्रतिशत पुरुष महिला पिडित होलान तर अझैपनि पुरुष पिडित महिलाको प्रतिशत पुरुषको भन्दा तेब्बर छ भन्दा रतिभर फरक पर्दैन ।

हाम्रो बहसकै बिचमा मैले उहालाई प्रश्न गरें, ” तपाईंले विवाहपछि आफ्नो श्रीमती बाहेक अरुसंग सम्बन्ध राख्नु भएको छैन” ? उहाँको अनुहारको रंग परिवर्तन भयो । कारण, गत बर्ष एउटा कार्यक्रमको सिलसिलामा हाम्रो भेट हुँदा उहाँले मलाई आफू सिंगल हो भन्नु भएको थियो तर मलाई थाहा थियो, उहाँ विवाहित पुरुष हो जसको दुई सन्तान छन् । यो पाली भने उहाँले भन्नुभयो ,” मैले श्रीमती बाहेक थुप्रै संग सम्बन्ध राखेको छु , एकचोटी श्रीमतीले थाहा पाएकी पनि छिन्”।

मैले भने ,” बुझ्नुभयो त भिन्नता पुरुष अनि महिला बिचको ? घरकी श्रीमती समाजमा गएर हाँस्दा परपुरुषसंग नाम जोड्न पछाडी नहट्ने श्रीमानको हरेक गल्ती माफ गर्छन नारीहरु” । उहाँलाई सोधे, ” अझै बहस गर्नुहुन्छ ?” । उहाँले ठट्टा गर्दै भन्नु भयो , ” पत्रकारहरुलाई बहसमा जित्न सकिदैन ,भयो भयो” । अन्त्यमा उहाँले पुन: अर्को वाक्य थप्दै भन्नुभयो, ” प्रतिमा जी हजुरलाई राम जस्तो श्रीमान परोस् ” । मैले उहाँको त्यो वाक्य त्यहि रोकें र भनें,” अहँ ! त्यस्तो पनि चाहिएन ” । फेरि माहोललाई रमाइलो गर्दै सोध्नुभयो , ” याब्स वाला ?” । तर मैले उहाँको त्यो रमाइलोपनलाई निकै गम्भीर रुपले हेरेर उत्तर दिएँ, ” मलाई श्रीमतीको अग्नि परीक्षा लिने सत्ययुगको राम , अनि एउटा नारीले सिंगो आफूलाई सुम्पिदा पनि आफ्नो आवश्यकता पुरा नभएर अन्त जाने कलियुगको नैतिकताहिन पुरुष दुवै चाहिएन । येदि यही छोरा मान्छेको बास्तविकता हो भने , म जिन्दगीभर छोरा मान्छे बिना नै बाँच्न चाहन्छु, रम्न चाहन्छु अनि बिना छोरा मान्छे आफैमा पूर्ण हुन चाहन्छु । “

Comments

comments