–पाँच वर्ष बितिसके । क्यान्सरपछिका यी वर्षहरूलाई फर्केर हेर्दा धेरै कुरा मनमा खेल्न थाल्छन् । क्यान्सरअघि जीवनप्रति मेरो दृष्टिकोण खासै उत्साहजनक थिएन । उदास फिक्का खैरो रंग जस्तो । म आफ्नो फिल्मी करिअरसँग विरक्त भइसकेकी थिएँ । आफ्ना सफलता, चमकधमक र पैसाले पनि मनको उत्साह बढाउन नसक्ने अवस्था थियो मेरो । निजी जीवनमा पनि केही सम्बन्धबाट गुज्रिसकेकी थिएँ ।

यो अर्थ नलागोस् कि म आफ्ना सफलता र सम्बन्धहरूलाई महत्वहीन ठान्थें । तर, बाहिरी सफलता र चमकधमकका माझ मेरो मनको एउटा कुना उदास रहन्थ्यो । मेरो छटपटाहटको कारण यही नै थियो भनेर ठ्याक्कै भन्न त सकिन्न । तर, सजिलै भन्न सकिन्छ( भित्र खुसी थिइनँ म । म एउटा खराब जीवनशैली बाँच्दै थिएँ ।

र, यस्तो बेलामा क्यान्सरले मलार्ई हान्यो, जब म मानसिक तवरले सबैभन्दा कमजोर थिएँ । म बाच्न चाहन्थेँ । म बाँच्नलाइ संघर्ष गर्न थालेँ । प्रार्थना गर्न थालेँ । सबैभन्दा राम्रो उपचार पाउने ठाउँमा पुर्‍याइए पनि अकल्पनीय पीडा भोगेँ मैले । त्यो पीडाको समुद्रमै डुब्छु कि जस्तो पनि नलागेको होइन । बाँच्छु भन्ने आशा नजागेको पनि होइन । मर्नु र बाँच्नुको दोसाँधमा समय बिताएँ । एक समय यस्तो आयो, जब म पूरै भत्किसकेकी थिएँ, भित्रबाटै । तर, बिस्तारै, स्थितिमा थोपाजत्रो परिवर्तन हँुदै गयो । मैले थोपा थोपा गरी आफ्नो झरिसकेको जीवनलाई बटुलेँ ।

अप्रेसनपछि म एकैपल्ट दौडेर पहिलाजस्तो हुन चाहन्थेँ । नसकिने रहेछ । त्यसपछि मैले दौडने बाटो छोडेँ । बिस्तारै घस्रने बाटो रोजेँ । सुरुमा म १० पाइला हिडेँ । त्यसपछि सय पाइला । यस्तै गरी गरी म दिनको दुई माइल हिँड्न सक्ने भएँ । समय लाग्यो । तर, मैले हार मानिनँ । बिस्तारै म सपना देख्न थाले । जीवनले दोस्रो मौका दियो भने कसरी बाँच्ने रु यस्तो सपना देख्न थालेँ ।

उपचारको सुरुवाती अवस्थामा छँदा मसँग खाना खाने शक्ति पनि थिएन । त्यति कमजोर थिएँ । भाइले मलार्ई एउटा उसिनेको अन्डा खुवाउन गर्नुपर्ने मिहिनेत म अझै झलझली सम्झन्छु । आफ्नो जवान छोरीलाई यो अवस्थामा देख्दा मेरा पिता र मातालाई परेको पीडा मेरो अनुमानभन्दा बाहिरको कुरा हो । मलार्ई लाग्छ, त्यसबखत मेरो अवस्थाले उहाँहरूलाई भित्रैबाट भत्काइसकेको होला । तर, यसबारे उहाँहरूले कहिलै कुरा गर्नुभएन । आमा मेरा लागि पोसिलो खाना बनाउनुहुन्थ्यो । चिनेका नचिनेका सबैलाई सोधेर उहाँले मलार्ई चाहिने पोसिलो खाना खुवाउनुभयो ।

मेरो उपचारले मभित्र रहेको क्यान्सरलाई मार्‍यो । तर, उपचारले क्यान्सरलाई मात्र मारेन । मेरो शरीरको प्रतिरोधात्मक शक्तिलाई समेत मार्‍यो । त्यो मेरो लागि भयकारी थियो । क्यान्सरको उपचारले रोगलाई मात्र मार्दैन, कुनै पनि कुरा जो छिटो बढ्छ, त्यसलाई पनि नष्ट गरिदिन्छ । मेरो कपाल, मेरा आँखीभौँ सबै नष्ट भए ।

अन्ततः एक लामो संघर्षपछि जब म क्यान्सरबाट पूर्णतः मुक्त भएँ, मैले आफूलाई सकारात्मक दृष्टिकोणबाट बाँधेर राखेँ । म जीवनलाई सकारात्मक आँखाबाट हेर्न थालें । दुई कुरामा म आफूलाइ धेरै भाग्यमानी मान्छु । मैले मद्दत माग्न सिकेँ । लिसा रेले भनिन्, ‘मनीषा, मद्दत माग । मान्छे छन् । मद्दत गर्छन् ।’

जब मैले मद्दत मागे, दयालु मानिस आए । कुनै दिन म ती मानिसहरूको नाम भन्नेछु, जसले आ(आफ्नो तरिकाबाट मलार्ई मद्दत गरे । मान्छेभित्र दयाको यो भावना देख्ने मौका मलाई क्यान्सरले दियो । मैले लुइस हेको ‘यु क्यान हिल योर लाइफ’ पढेको थिए । त्यसमा उनी लेख्छिन्, ‘पाठेघरले सिर्जनात्मकतालाई प्रतिनिधित्व गर्छ । यदि पाठेघरमा कुनै रोग छ भने जीवनमा सिर्जनात्मकताका अन्य गतिविधि अपनाऊ’ । म एउटा कलाकार हुँ । मलाई थाहा थियो सिर्जनात्मक हुनु मेरो जीवन तत्व हो । तर, पाठेघरको क्यान्सर भएपछि थाहा पाएँ, अब मेरो जीवन नै त्यसैमा निर्भर हुनेछ । त्यसपछि मैले जे सक्छु, त्यही गर्न थालेँ । मैले पेन्टिङ गर्न थालेँ । घर सजाउन थालेँ । बगैंचा गोड्न थालेँ । यी कामले मेरो निको हुने प्रक्रिया छिटो भयो।

नियमित व्यायामबाट शरीर र मनलाई स्वस्थ राख्न जरुरी छ । क्यान्सर बिरामीका लागि त झनै । म हिँड्न थाले । खानपान, व्यायाम, योग, प्राणायाम अपनाएँ । आठ घन्टा नियमित सुत्नु राम्रो हुन्छ । आफूलाई भावनात्मक रूपमा सही राख्न पनि ज्यादै जरुरी छ । मैले त्यो सबै अभ्यास गरेँ ।

आज कुनै पनि कुराले म धेरैबेर डिस्टर्ब हुन्नँ । तिनको प्रभाव आफ्नो सोचाइमा पर्न दिन्नँ । आखिर म पनि मानिसै हुँ । कहिलेकाहीँ उदास हुन्छु । रिसाउँछु । रुन्छु । वा नकारात्मक प्रतिक्रिया देखाउँछु । तर यी सब भावनालाई आफूसित धेरैबेर बाँधेर राख्दिनँ । यी आउँछन्, अनि जान्छन् । मसित बस्दैनन् । यो मेरो आध्यात्मिक साधना पनि हो । उदासीलाई आफूसँग टाँसिइरहन नदिने साधना । कुनै पनि पीडादायक सोचलाई आफूसँग झुन्डिन नदिने साधना । पीडा आउँछ । म त्यसप्रति सचेत हुन्छु । जब म सचेत हुन्छु, त्यो धेरैबेर टिक्नै सक्दैन । अध्यात्मको शक्ति मैले अनुमान गरेभन्दा धेरै रहेछ ।

क्यान्सर कति दुःखदायी छ, मैले भोगेको कुरा हो । यसको उपचार गर्न सकिन्छ, त्यो पनि मैले भोगेको कुरा हो । क्यान्सरमुक्त भइसकेपछि त्यसका केही असर बाँकी रहन्छन्, मलाई थाह छ । तर, कुरा त्यतिमा सीमित छैन । क्यान्सरले मेरो जीवनमा कतिपय सकारात्मक बद्लाव पनि ल्याएको छ, जो सायद कहिल्यै आउने थिएनन् मेरो जीवनमा । म जीवनको महत्व धेरै बढ्ता महसुस गर्न थालेकी छु । क्यान्सर लाग्नुअघि, म जीवनलाई बाँचिरहेकी मात्र हुन्थे, आजभोलि मैले जिउन सिकेकी छु । बाँच्नु र जिउनुबीच ठूलो अन्तर छ ।

क्यान्सरले मलाई सिकाएको छ, हाम्रो वरिपरिका घटना र वातावरणले हामीलाई जतिसुकै असर गरिरहेको भएता पनि, सुरुवातचाहिँ क्यान्सर बिरामीले आफैंबाट गर्नुपर्छ । आफ्नै प्राथमिकताबाट गर्नुपर्छ । सबैभन्दा पहिला मैले आफ्नो हेरचार आफैं गर्नुपर्छ । मैले आफूलाइ आफैं माया गर्नुपर्छ । आफ्ना निम्ति म आफैं जिम्मेवार हुनुपर्छ । आफूलाई पहिला राख्नुपर्छ भनिरहँदा यो नठानियोस् कि यो एक्लै आफ्नो निम्ति मात्र बाँच्ने सोचाइ हो । आफ्नो निम्ति आफैं जिम्मेवार हुनुपर्छ । तर, साथै यो बोध पनि अनिवार्य छ, हामी सबै संसारमा कुनै न कुनै प्रकारले एकआपसमा जोडिएका छौं । एक्लै कोही छैनौं । एकअर्कामा पारस्परिक निर्भरता छ ।

जब म कुनै उदास मुहार देख्छु, उसको पीडा महसुस गर्ने कोसिस गर्छु । उसको निम्ति कुनै तरिकाले सहयोगी हुन सके मलाई खुसी लाग्छ । कुनै दिन मलाई कसैले सहयोग गरेका थिए, आज म कसैलाई सहयोग गर्न सके आफूलाई सार्थक महसुस गर्छु । आजभोलि म कुनै पनि कुराप्रति झ्वाट्टै प्रतिक्रिया व्यक्त गर्दिनँ, जसरी क्यान्सर लाग्नुअघि गर्थें । यो रोगले मलाई दुःख मात्र दिएको छैन, धेरै कुरा सिकाएको पनि छ ।

क्यान्सरको उपचार गराइरहेका मेरा साथीहरू वा भर्खरै आफ्नो शरीरमा क्यान्सर छ भन्ने सूचना पाएका साथीहरूलाई भन्न चाहन्छु, हाम्रो निम्ति जीवन सकिएको छैन । हामीले जीवनलाई अलि फरक दृष्टि राखेर हेर्नुपर्ने नयाँ स्थिति उत्पन्न भएको छ । हरेक मान्छेका निम्ति जीवन एक ठूलो अवसर हो । तर, जीवन जस्तोसुकै भए पनि एक दिन यो समाप्त हुनेछ । ढिलो वा चाँडो । क्यान्सर लागेर वा नलागेर । समाप्त अवश्य हुनेछ । त्यसैले मृत्युको भयलाई सकेसम्म टाढा राख्नुपर्छ । मलाई थाहा छ, यो लेख्न सजिलो छ, भन्न सजिलो तर गर्न गाह्रो छ । तर, मलाई यो पनि थाहा छ, हामीले कोसिस गरे, मनोभावलाई सकारात्मक राखे भयलाई टाढा राखेर पनि बाँच्न सकिन्छ । कोसिस गर्न त पक्कै सकिन्छ । हमेसा नसकिएला, तर सकिन्छ । रोग हाम्रो हातमा छैन तर रोगप्रति हामीले कसरी आफ्नो प्रतिक्रिया जनाउने भन्ने कुराचाहिँ हाम्रै हातमा छ । हामी आफ्नो ध्यान र कर्म सकारात्मक कुराहरूपट्टि लगाउन सक्छौं ।

मैले त्यसै गरें । सकारात्मक सोचमा हामीले अनुमान गरेभन्दा धेरै शक्ति छ । मैले जीवनका स(साना कुराहरूबाट खुसी लिन सिकेँ । मेरो जीवनमा त्यस्ता उपलब्धिको कमी छैन, जसलाई मान्छेहरू ठूला उपलब्धि भन्छन् । आज जोखेर हेर्ने हो भने, म भन्न सक्दिनँ, तराजु कतापट्टि भारी हुनेछ भनेर । क्यान्सर मेरो यस्तो शिक्षक बन्यो, जसबाट मैले जीवनका पाठहरू सिकें । मेरो भौतिक शरीर, मेरो मानसिक शरीर र मेरो भावनात्मक शरीर, तीनै थरीको मद्दतले म क्यान्सर रोगबाट मुक्त भएँ ।

आजकाल म क्यान्सर रोगबारे सचेतना अभियानहरूमा संलग्न छु । सबैलाई भन्न चाहन्छु कि उपचारभन्दा रोकथाम निको हो । बेलैमा परीक्षण गराए क्यान्सरबाट बच्न सजिलो हुन्छ । पाठेघरको क्यान्सर विषयमा सचेतना मात्र भए, धेरै कुरा नियन्त्रण हुन सक्छ ।

म आफ्नो जीवनप्रति धेरै अनुग्रहित छु । मेरो जीवनले मलाई आकाश छुने शिखर र अध्यारा खाडलहरू, दलदलहरू देखायो । मलाई सम्मान र अपमान दुवै यथेष्ठ दियो । म आफ्नो जीवनलाई समग्रमा अँगालो मार्न चाहन्छु । म मेरा सफलता र असफलता दुवैलाई अँगालो मार्न चाहन्छु । दुवैप्रति म कृतज्ञ छु । मलाई लाग्छ मैले जीवनमा शिखरमा हुँदा जति सिकें, खाल्डोमा भासिँदा त्योभन्दा धेरै सिकें ।

म आफ्नो परिवार, साथीहरू, शुभेच्छुकहरूप्रति कृतज्ञ छु, जो मैले जीवन गुमाउन लाग्दा मेरो साथ खडा रहे, जसले मेरो जीवन फर्काउन मलाई साथ दिए । क्यान्सरपछिको, मेरो जीवन तपाईंहरूको उदारताको परिणाम हो । क्यान्सर रोगबारे सचेतना जगाउने अभियानहरूमा मेरो साथ रहने छ । म सबैप्रति आभारी छु । क्यान्सरप्रति पनि, जो मेरो जीवनमा एक कठोर शिक्षक भएर आयो । केही पाठ सिकायो । र, गयो । आखिर जीवन पनि त्यही होइन र रु त्यो आउँछ अनि जान्छ । तर, त्यसलाई सकारात्मक आँखा राखेर हेर्न सके धेरै फरक पर्छ ।

-अन्नपूर्ण पोस्ट्बाट साभार

Comments

comments