मेलबर्न । सात वटा हिमाल चढ्ने पहिलो महिला टिम बन्न सफल समूह हो ‘ सेभेन समिट वुमन टिम’ । सामाजिक-आर्थिक चुनौतीको सामना गर्दै विश्वको सर्वोच्च हिमाल सगरमाथा चढेको नेपाली महिलाहरुको यस समूहले अरु महादेशका हिमाल समेत गरि सातवटा हिमाल चढेको छ। उनीहरुको उद्देश्य हिमाल चढ्नु मात्र होइन, समाजलाई सशक्त र समृद्ध बनाउनु पनि हो।

आफ्नो उद्देश्य अनुरुप सेभेन समिट वुमन टिमले हिमाल यात्रा संगै यो पछिल्लो एक दशकमा शिक्षा र सशक्तिकरणको लागि उल्लेखनिय कार्यहरु गर्दै आएको छ।यही कार्यलाई निरन्तरता दिंदै यस समूहले सिन्धुपाल्चोकको काफ्ले स्थित श्री बालसुधार प्राथमिक विद्यालयको सहयोगार्थ मेलबर्नमा एक कार्यक्रमको आयोजना गरेको छ। आगामी मार्च १० मा हुने उक्त कार्यक्रम ‘ एभरेष्ट वुमन फर एजुकेशन इन अष्ट्रेलिया’ डिनर कार्यक्रम हो । सहयोग रकम संकलन साथै उत्प्रेरणात्मक प्रस्तुतीहरु समेत रहने उक्त कार्यक्रम थोर्नबरी थिएटरमा साँझ ५:३० बजेदेखि सुरु हुनेछ।

उक्त कार्यक्रमबाट उठेको सबै सहयोग रकम २०७२ सालको भूकम्पबाट प्रभावित बालसुधार प्राथमिक विद्यालयको लागि जाने आयोजक समूहकी सदस्य माया गुरुङले बताउनुभयो । यस कार्यक्रमको उद्देश्य प्रष्ट पार्दै उहाँले भन्नुभयो, ” यस डिनर कार्यक्रमबाट जति पनि रकम उठ्छ त्यो सबै बालसुधार विद्यालयको भौतिक तथा शैक्षिक सुधारको लागि खर्च गरिनेछ र खर्च सबै पारदर्शी हुनेछ। ” समूहकी अर्की सदस्य शैली बस्नेतले नेपाली ग्रामिण भेगको शैक्षिक सुधारको कार्यक्रम तथा उत्प्रेरणात्मक कार्यक्रम भएको हुँदा उक्त डिनर कार्यक्रममा मेलबर्नमा रहनुहुने सम्पूर्णलाई उपस्थित भइदिनुहुन अनुरोध गर्नुभयो।

सेभेन समिट वुमन टिमको साहस र कार्यहरुको प्रशंसा गर्दै नेपाल मात्र नभई अष्ट्रेलिया र अमेरिका जस्ता देशहरुले सम्मान व्यक्त गरेका छन् । यस समूहकी संयोजक शैली बस्नेतलाई मेलबर्नको द ग्राजुएट युनियन अफ द युनिभर्सिटीले आफ्नो कार्यक्रममा वक्ताको रुपमा निम्ता समेत गरेको थियो ।

Comments

comments