काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि शुरु भएको एकमहिने स्वस्थानी व्रत बुधबार बिहान ८ बजेर ५५ मिनेटअघि नै समापन गर्नुपर्ने नेपाल पञ्चाङ समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले बताए ।

आज चन्द्र ग्रहण रहेको र आठ बजेर ५५ मिनेटपछि ग्रहणको सुतक लाग्ने भएकाले त्यसअघि नै स्वस्थानी व्रत उद्यापन गर्नु पर्ने अध्यक्ष गौतमको भनाई छ ।

स्वस्थानीको उद्यापन मध्याह्नमा गर्ने परम्परा रहेको र मध्याह्नमा उद्यापन गर्न चाहनेले फागुन कृष्ण पञ्चमीसम्म अर्थात माघ २२ गतेसम्म स्वस्थानी व्रत उद्यापन गर्न सक्ने समितिले जनाएको छ ।

काठमाडौं उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि शुरु भएको माधवनारायण व्रत ग्रहण लाग्नुअघि नै समापन गर्ने गरी तयारी शुरु गरिएको माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष राजभाइ श्रेष्ठले जानकारी दिए । बिहान ७.३० बजेदेखि नै नित्य पूजापाठ गरेर व्रत समापन शुरु गरिने समितिले जनाएको छ । माघ १८ गते वर्तालुलाई भोज खुवाएपछि एकमहिने माधवनारायण मेला समापन हुनेछ ।

Comments

comments