काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन अर्थात बुधबार बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।

माघ १७ गते अर्थात आज बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ । राति आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहण सकिने समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए ।

शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेकलाई बुधबार बिहान ८ बजेर ५५ मिनेटदेखि नै खान निषेध गरिएको छ, ग्रहण लागेपछि सुत्न, हास्यविनोद, लगायत काम गर्नुहुँदैन, ग्रहण निमित्तिक देवपूजा, तर्पण आदि भने गर्नुहुने अध्यक्ष गौतमले बताए ।

धार्मीक मान्यतानुसार बुधबारको चन्द्रग्रहण वृष, तुला र कुम्भ राशि भएकाहरुले मात्र हेर्नुहुन्छ । यी राशि भएकाहरुले पनि खुला आँखाले ग्रहण हेर्नुहुँदैन ।

यस वर्षको चन्द्रग्रहणमा खग्रास, चन्द्रमा पृथ्वीको नजिक आउने (सुपर मुन) र ग्रेगोरियन पात्रोअनुसार एकै महिनामा दुई पटक पूर्णचन्द्र देखिने ‘ब्लु मुन’ को योग परेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो दुर्लभ खगोलीय घटना १ सय ५२ वर्षपछिको पहिलो अर्थात् सन् १८६६ मार्च ३१ तारिखका दिन देखिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।

चन्द्रग्रहण अफ्रिकाका केही देशबाहेक विश्वभरबाट देख्न सकिने सोसाइटीले जनाएको छ । आधुनिक विज्ञानअनुसार चन्द्रग्रहण हेर्न टेलिस्कोप अथवा अन्य कुनै यन्त्रको सहयोग लिननपर्ने सोसाइटीको भनाइ छ ।

Please follow and like us:

Comments