काठमाडौं । स्वतन्त्रता र प्रजातन्त्र स्थापनाका लागि ज्यानको आहुति दिने शहीदहरुको संझनामा देशभर विविध कार्यक्रम गरी शहीद दिवस मनाइदै छ ।

शहीद दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीले शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

शहीदको सम्झनामा गएको १० गतेदेखि सप्ताहव्यापी कार्यक्रम भइरहेको छ । शहीद दिवसका अवसरमा रत्नपार्क, शान्तिबाटिकादेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरि गरी शहीदप्रति श्रद्धाञ्जलि दिईंदै छ ।

त्यस्तै दिउँसो प्रथम शहीद लखन थापादेखि पछिल्ला लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गर्ने शहीदका सम्झनामा गोकर्णेश्वरमा निर्माणाधीन राष्ट्रिय शहीद स्मारकमा कार्यक्रम हुँदैछ । सरकारले हरेक वर्ष शहीदको सम्झनामा कार्यक्रम गर्दै आए पनि शहीदको सपना अझै पूरा हुन नसकेको गुनासो बढिरहेको छ ।

नागरिक स्वतन्त्रताको माग गर्दा १९९७ सालमा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुमा रहेको पचलीमा, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणाशासकले मृत्युदण्ड दिएका थिए ।

दिवसका अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासहित मुख्य दलका शिर्ष नेताहरुले शहीद दिवसको शुभकामना सन्देश दिएका छन् ।

Comments