मेलबर्न । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अष्ट्रेलियाले वाल्क फर वेलफेयर कार्यक्रम गर्ने भएको छ । एनआरएनए अष्ट्रेलियाले पत्रकार सम्मेलन गरि सोसियल वेलफेयर फन्ड तथा वाल्क फर वेलफेयरसंग सम्बन्धित आफ्ना वार्षिक कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको कार्यक्रम अनुसार, आगामी मार्च १० तारिखमा अष्ट्रेलियामा रहेको नेपाली समाजमा बढ्दै गएको महिलाविरुद्धको हिंसाका विषयमा जनचेतना फैलाउने उद्देश्यका साथ अष्ट्रेलियाका सबै राज्यमा वाल्क फर वेलफेयर–वेलफेयर फर वोमन भन्ने नारा सहित कार्यक्रम गरिनेछ ।

अष्ट्रेलियामा रहेको नेपाली समुदायमा बढ्दै गइरहेको मानसिक तथा शारीरिक अस्वस्थतलाई न्यूनीकरण गर्न गैर आवासीय नेपाली संघ अष्ट्रेलिया र अष्ट्रल एसिया मेडिकल एण्ड डेन्टल एशोसिएसनबीच आगामी २ वर्षकालागि सयुंक्त रुपमा काम गर्ने गरि सम्झौता भएको छ । राष्ट्रिय महत्वका कार्यक्रम अन्तर्गत एनआरएनए अष्ट्रेलियाले २०१७–१९ कार्यकाल भित्र दिगो संस्थागत सुदृढिकरण र अभिमुखीकरण कार्यक्रम, राष्ट्रियस्तरको उद्यमी सम्मेलन, नेपाली भाषाको संरक्षण र प्रर्बद्वन कार्यक्रम, पर्यटन प्रर्बद्वन र लगानी अभिवृद्धि गर्ने उदेश्य सहित नेपाल फेस्टिवल सम्पन्न गर्ने बताइएको छ ।

यस्तै विद्यार्थीहरुको सहयोग तथा हीतको निम्ति एनआरएन अष्ट्रेलियाले स्टुडेन्ट वेलफेयर फन्ड, सोसियल तथा स्टुडेन्ट वेलफेयर फन्ड पोलिसी गाइड लाइन, नयाँ आउने विद्यार्थीकालागि कार्यक्रम आदि विभिन्न कार्यक्रम गरिने बताइएको छ ।

यी बाहेक एनआरएन अष्ट्रेलियालाई अझ बलियो र प्रभावकारी बनाउने तथा अष्ट्रेलिया नेपाल सम्बन्धलाई मजबुत गराउनको निम्ति विभिन्न कार्यक्रम गरिने समेत विज्ञप्तिमा उल्लेख छ ।

 

Please follow and like us:

Comments