रुपन्देही । तपाई कसैको विभिन्न प्रलोभन र विश्वासमा जागिर वा अन्य कुनै कार्य गर्ने मनसायमा हुनुहुन्छ ? कुनै तालिम पश्चात रोजगारी लगाईदिने भन्दै मोटो रकम तिरेर तालिम लिईरहनुभएको छ, वा भर्खरै परिचित आफन्त जस्तै व्यावहार गर्ने कसैसँग नजिक त बन्नु भएको छैन ? अब होसियार हुनुहोला ।

राजधानी लगायत देशका विभिन्न जिल्लामा नेटवर्किङ सञ्चालन गर्दै बसेका गिरोहहरुले पैसा त लुट्छन् नै, तपाईको भविष्यमाथि नै खेलवाड हुनसक्छ । पछिल्लो समय नेपालमा यस्ता घटना दिनप्रतिदिन बढिरहेको प्रहरीको अनुसन्धानले देखाएको छ । यस्तै ठगहरुसँग धेरैले लुटिनु परेको छ ।

नेटवर्किङ कम्पनीमार्फत् लामो समयदेखि ठगी गर्दै आएका अभियुक्तहरुलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रहरीले नेपालका तराई तथा पहाडी जिल्लाहरुबाट जागिर लगाइदिने भन्दै विभिन्न वहानामा नेपालीहरुलाई भारतको शहरमा पु¥याई उनीहरुबाट पैसा असुल्ने र जागिर पनि नपाईने पैसा पनि फिर्ता नगर्ने ५ जनालाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भारतको लमजुङ दोर्दी गाउँपालिका–५ का दर्पण लामा, दाङ लमही नगरपालिका ४ का कुशलराम चौधरी छन् । लामाले गोरखपुरमा कार्यालय रहेको ड्रिम डेप्लोपर्स ट्रेडमार्ट प्रा.लि.मा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

उनीहरुलाई प्रहरीले ३७ लाख ८५ हजार विगोसहित अदालतमा मुद्दा दायर गरेको छ । चौधरी र लामा विरुद्ध रुपन्देही प्रहरीमा ३९ जना पीडितहरुले कारबाहीको मागगर्दै जाहेरी दर्ता गरेका छन् । भारतकै बनारसमा रहेको विनविन ट्रेडमार्ट प्रा.लि.मा नेपालीहरुलाई पु¥याई ठगी गर्ने धार्दिङ रोराङ गाउँपालिका–३ का ज्ञानेन्द्र मगर छन् ।

उनीसँग ७६ लाख ८३ हजार को विगो दावी गरिएको छ । मगर विरुद्ध २३ जनाले जाहेरी दर्ता गरेको रुपन्देहीका निमित्त प्रहरी प्रमुख डिएसपी डिल्लीनारायण पाण्डेले बताए । भारतकै खुशीनगरमा रहेको फुलटन ट्रेडमार्ट प्रा.लि.मा जागिर लगाइदिने निहुमा ठगी गर्ने काभ्रेपलाञ्चोक गाउँपालिकक–३ का चन्दितसिंह मोक्तान र बारा निजगढ नगरपालिका–१२ का दावा लामा छन् ।

उनीहरुसँग प्रहरीले ३७ लाख ५८ हजार विगो दावी गरेको डिएसपी पाण्डेले बताए । मोक्तान र लामाविरुद्ध रुपन्देही प्रहरीमा १८ जनाले जाहेरी दिएका थिए । प्रहरीका अनुसार उनीहरुले गाउँगाउँमा पुगेर सर्वसाधारण नागरिकलाई एजेण्टमार्फत् सम्पर्क गराई भारतका तीनवटा नेटवर्किङ कम्पनीहरुमा काम लगाइदिने भन्दै ठगी गर्दै आएका थिए ।

प्रहरी तथ्यांक अनुसार ती कम्पनीमा काम लगाइदिने भन्दै ठगी गर्ने २९ जना अभियुक्त अझै फरार छन् । प्रहरीले आर्थिक वर्ष ०७३÷०७४ मा यसरी एजेन्टमार्फत् भारत प्रवेश गर्न लागेका ५ सय १६ र ०७४÷०७५ को पुससम्म ३ सय २७ जना पुरुष तथा महिलाहरुलाई सीमा क्षेत्रबाट फर्काई परिवारको जिम्मा लगाएको छ ।

दिनप्रतिदिन बढेका यस्ता घटनाले नागरिकको सुरक्षामा चुनौती थपिएको छ । देशमा रहेको वेरोजगारी, अशिक्षा, गरिबी यसका मुख्य कारक हुन । देशमा रोजगारीको स्थिति सिर्जना नहुँदा र परिष्कृत कानुनको अभाव र सयन्त्रले यस्ता घटनाले प्रसय पाएको छ ।

Comments

comments