मेलबर्न । आगामी ओलम्पिक खेलको लागि हुने टर्च रिलेमा अष्ट्रेलियाबाट नेपाली किशोरी छानिएकी छिन् । १३ वर्षिया दिक्षा रावल ओलम्पिक टर्च रिलेको लागि छानिएकी हुन् । अन्तर्राष्ट्रिय संचारमाध्यमले उनलाई प्रेरणादायी व्यक्तिको रुपमा चित्रण गरि समाचार बनाइरहेका छन् ।

नेपालमा गएको महाभूकम्पमा दिक्षा नेपालमै थिइन् र त्यो भयानक विपत्तिको साक्षी बनिन् । उनका बुवा यज्ञ रावल भने त्यतिबेला अष्ट्रेलियामा थिए । आमा जानकी विष्टलाई त्यो विपतमा सन्तानलाई मानसिक रुपमा बलियो बनाउन, घरका भत्किएका अवेशेषहरु देख्दा आफैलाई समेत सम्हाल्न निकै सकस पर्यो। भूकम्पको केही समयपछि नै दिक्षाका बुवा नेपाल आए। भुकम्पको त्रासले दिक्षा नेपालमा बस्न चाहेकी थिइनन्। जसले गर्दा दिक्षाका बुवाले भिसा मिलाए र एक वर्ष अगाडी देखिउनीहरु सपरिवार अष्ट्रेलियामा बस्न थाले ।

अष्ट्रेलिया पुगेर गस्फोर्डमा बस्न थालेको रावल परिवारले परिवारको आर्थिक स्थिति धान्न संघर्ष गर्न थाल्यो । दिक्षा स्थानीय स्कुलमा भर्ना भइन् र निकै मेहनत गर्न थालिन् । नौलो ठाउँमा आएर पनि कडा मेहनतका साथ स्कुलमा धेरै राम्रो प्रगति गर्न थालेपछि उनीबाट सबै प्रभावित हुन थाले । स्कुलमा गरेको त्यो मेहनत, स्कुलका विभिन्न गतिविधिमा दिक्षाको सहभागिताले नै उनलाई ओलम्पिक टर्च रिलेको लागि छानियो । आफ्नो संघर्षले सार्थकता पाएकोमा रावल परिवार अहिले निकै खुशी छ । दिक्षा यहाँको शैक्षिक गुणस्तर र अवसरबाट सन्तुष्ट छिन् र यहाँका अवसरहरुलाई भरपूर प्रयोग गर्न चाहन्छिन् ।

ओलम्पिक रिलेको लागि दिक्षासंगै क्यानबेराका वैज्ञानिक अनुसन्धानकर्ता ह्याले टेस्दाले, सिड्नीका व्यवसायी जोन विनिंग र सामुदायिक नेता डेविड डोर्सेट लिन अष्ट्रेलियाको प्रतिनिधिको रुपमा छानीएका छन् ।

Comments

comments