–चन्द्र योञ्जन

एक शताब्दी लामो पनि इतिहास नभएको अष्ट्रेलिया अहिले दुई सय साठी भन्दा बढी देशका मानिसहरुले भरिएको बहुसांस्कृतिक देश हो । पछिल्लो समयमा अष्ट्रेलियामा नेपालीको संख्या पनि बाक्लिदै गएको छ । अध्ययन र बसाइसराइ गर्न चाहने नेपालीकालागि अष्ट्रेलिया प्रमुख गन्तव्य बनेको छ ।

गुणस्तरीय शिक्षा, करियरको राम्रो अवसर र पीआर अष्ट्रेलियाका मूख्य आकर्षण तथा विशेषता हुन् । अष्ट्रेलियाको शैक्षिक गुणस्तर निकै राम्रो छ किनभने त्यहाँ शिक्षा सम्बन्धि प्रभावकारी नीतिहरु बनाइएका छन् र तिनलाई कडा रुपमा कार्यान्वयन गरिएको छ । यदि कुनै पनि शैक्षिक संस्थाले सरकारले बनाएको नीति पालना गर्दैन भने,त्यो तुरुन्त कारबाहीमा पर्छ ।

पीआरको सन्दर्भमा हेर्दा अष्ट्रेलियामा जनसंख्या कम छ । त्यसैले अष्ट्रेलियाका विभिन्न राज्यहरुले विदेशीलाई त्यहीं बस्ने र अष्ट्रेलियाको नागरिक बन्न सक्ने किसिमको नीति बनाएका छन् । जनसंख्या पुगिसकेको राज्यमा पीआरको लागि केही कडाइ गरिएपनि उनीहरु रिजनल क्षेत्रमा गएर अष्ट्रेलियामा बस्ने प्रक्रिया सुरु गर्न सक्छन् ।

त्यस्तै, अष्ट्रेलिया धनी तर नयाँ राष्ट्र भएका कारण त्यहाँ विकासका धेरै काम भइरहेका छन् । यसले गर्दा धेरै अवसरहरु छन् । राजनीतिक स्थिरता,विदेशीहरुको हितमा आधारित कानून र योग्य राजनीतिज्ञ भएका कारण पनि विकास र अवसरको सुन्दर देश बनिरहेको अष्ट्रेलियामा नेपालीहरु मात्र नभएर अरु राष्ट्रहरुका नागरिकहरु समेत बसोवास गर्न चाहन्छन् । जसले गर्दा छोटो समयमै अष्ट्रेलिया बहुसांस्कृतिक देश बनिसकेको छ । यो देश अत्यन्तै व्यवस्थित छ । यहाँ कानूनलाई निकै महत्व दिइन्छ र कुनै समुदायको व्यक्तिबाट नराम्रो क्रियाकलापको सूचना आएमा त्यो समुदायलाई नै प्रत्यक्ष संलग्न गराएर समाधान खोजिन्छ ।

राजनीतिक स्थिरता,विदेशीहरुको हितमा आधारित कानून र योग्य राजनीतिज्ञ भएका कारण पनि विकास र अवसरको सुन्दर देश बनिरहेको अष्ट्रेलियामा नेपालीहरु मात्र नभएर अरु राष्ट्रहरुका नागरिकहरु समेत बसोवास गर्न चाहन्छन् ।

यति हुँदा हुँदै पनि अष्ट्रेलियामा आत्महत्या तथा डिप्रेसनका समाचारहरु आइरहन्छन् । यसको मूल कारण हामी नेपालबाट अष्ट्रेलिया जाँदा आफूलाई मानसिक रुपमा तयार पारेर गएका हुँदैनौं । नेपालमा अरुमाथि निर्भर रहेका, किशोरावस्थाका र घर परिवारसंग बसेर हुर्किएका विद्यार्थीहरु अष्ट्रेलियामा गएर एक्लै बस्नुपर्ने,काम र पढाइको भार, आत्मनिर्भर बन्नुपर्ने बाध्यता आदिका कारण डिप्रेसनमा पर्न सक्छन् । यस्तै भर्खरै विवाह भएका जोडीहरु त्यहाँको वातारण, काम र पढाइको बोझ,आफ्नो दायित्व र परिवारबीच बेमेल हुँदा डिप्रेसनमा पर्ने गरेको केही घट्ना देखेको छु । अष्ट्रेलिया गएका अभिभावकहरु छोराछोरीसंग मनमुटाव हुँदा, एक्लोपनले सताउँदा र दुःख बाँड्ने व्यक्ति नहुँदा पनि डिप्रेसनमा पर्ने सम्भावना रहन्छ ।

विभिन्न नेपाली संचारमाध्यम तथा संघ संस्थाहरुबाट आत्महत्या र डिप्रेसनका घट्ना न्यूनीकरण गर्ने प्रयास भइरहेका छन् । दूतावासले नेपाली समुदायका विभिन्न संघ संस्थासंग सहकार्य गरेर कार्यक्रम गर्ने प्रयास गरिएको छ । दुतावास र महावाणिज्यदूतको कार्यालय मिलेर समस्या पर्दा सम्पर्क गर्न सकिने विभिन्न कार्यालय तथा सम्पर्क माध्यम राखिएको बुकलेट बनाउने योजना बनाइदैछ । अष्ट्रेलिया आउने नेपालीहरुले महावाणिज्यदूतको कार्यालयमा आएर सम्पर्क गर्ने हो भने समस्या पर्दा दोहोरो सम्पर्क गर्न सजिलो हुन्छ ।

नेपालबाट अष्ट्रेलियाको लागि नयाँ राजदूत नियुक्त भएपछि नेपाल र अष्ट्रेलियाको सम्बन्धलाई समेत मजबुत बनाउने प्रयास गरिएको छ । नेपालको राजनीतिक स्थायित्व नहुँदा पनि काम गर्न अप्ठ्यारो भएको थियो तर हालै सम्पन्न निर्वाचनपछि राजनीतिक अस्थिरता पनि हट्ने देखिएको छ । योसँगै अब विस्तारै विभिन्न कुटनीतिक पहल चालिनेमा हामी आशावादी छौं ।

पर्यटनले गर्दा पनि नेपाल अष्ट्रेलिया सम्बन्ध प्रगाढ बन्दै गएको छ । पहिले अष्ट्रेलियनहरु ट्रेकिङको लागि नेपाल आउंथे भने अहिले अष्ट्रेलिया बस्ने नेपालीहरुले गर्ने विभिन्न कार्यक्रमले गर्दा अष्ट्रेलियामा नेपालको प्रबर्द्धन भइरहेको छ । जसको कारण विभिन्न लक्ष्यका साथ अष्ट्रेलियनहरु नेपाल भ्रमणकालागि आउने क्रम बढेको छ ।

(अष्ट्रेलियाको भिक्टोरिया राज्यकालागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले जनता टेलिभिजनलाई दिनुभएको अन्तर्वार्तामा आधारित )

Comments

comments