रौतहट । चन्द्रपुर नगरपालिका वडा नम्बर ८ सन्तपुरमा निर्माणाधीन नमुना बस्तीका लागि रकम अपुग भएको छ । कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को धुर्मुस सुन्तली फाउन्डेसनले बनाइरहेको दलित नमुना बस्तीका लागि १ करोड रुपैयाँ अपुग भएको हो ।

५ करोड ९५ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको दलित नमुना बस्तीका एक करोड २९ लाख रुपैयाँ अपुग भएको कलाकार धुर्मुसले बताए । नमुना बस्ती निर्माण गरिरहेका यी कलाकार जोडीले एक करोड रुपैयाँ बराबर श्रम र सामान उधारोमा चलाउनुपरेको बताएका छन् । सहयोग रकम आइरहेको भए पनि अपुग भएको धुर्मुसको भनाइ छ । पछिल्लो समय बस्ती निमार्णका लागि रकम अभाव भएको कुरा सामाजिक सञ्जाल र व्यक्तिगत रुपमा पनि आग्रह गरिरहेका धुर्मुसले सहयोग रकम जुटिरहे पनि ठूलो मात्रामा रकम जुटाउनु परेकाले चिन्तित बनेको बताए ।

बस्ती निर्माण अन्तिम चरणमा पुगेको छ । धुर्मुस सुन्तली फाउन्डेसनले माघ २१ गते बस्ती हस्तान्तरण गर्ने योजना बनाएको छ । बस्तीका घरमा रंगरोगन, बिजुली जोड्ने, भित्री बाटो तयार पार्ने, पर्खाल र उद्यान निर्माण, झ्यालढोका तयार पार्ने काम चलिरहेको फाउन्डेसनका अध्यक्षसमेत रहेका धुर्मुसले बताए । बस्तीमा ४७ घर बनेका छन् । विद्यालय भवन, बाल उद्यान, सार्वजनिक शौचालय, मन्दिर, भ्यू टावरसहितको एकीकृत नमूना बस्ती निर्माण भइरहेको छ । एकीकृत नमुना बस्ती सन्तपुरको विद्यालयमा ९२ बालबालिका शिक्षा लिइरहेका छन् ।

Comments

comments