– प्रतिमा भट्ट

ब्याकयार्डको सयपत्री फूल राखेको गमला सानो भएछ । त्यसैले होला एउटा ठूलो थुङ्गा भुईमा झरिरहेको थियो । स्मृति त्यो झरेको पहेंलो सयपत्रीको थुङ्गालाई हातमा स्पर्स गर्दै लामो सा स फेर्छिंन । ” गमलालाई गह्रौं भएपछि मगमगाएर नाचिरहेको सुन्दर फूल पनि आखिर झर्नै पर्ने रहेछ” उसैत पहेंलो रंग भनेपछि हुरुक्क हुने ऊ, झन् भुइमा झर्दापनि नओईलिएको उक्त थुङ्गा देख्दा यस्तै भावना मनमा खेलाउंदै खुसीले गदगद हुन थाली ।

कति धेरै माया लागेको होला उसलाई त्यो फूलको । त्यो फूल हेर्दा उसलाई कता कता नेपालको सम्झना आयो ।दशैँ , तिहार , खेतबारीमा झुलेका बालीहरु , अनि करेसाबारीमा ढकमक्क भई फुल्ने ति मखमली र सयपत्री। आज ती सबै सम्झनामा मात्र छन् । तिन बर्ष भयो ती सबै यादहरुलाई बयालीस केजीको झोलामा अटाई नअटाई पोको पारेर घर छोडी सपनाको देश अष्ट्रेलियामा पाइला टेकेको।

ऊ झल्झली सम्झिन्छे घर छाड्दाको त्यो पल । आँखाबाट आँसु झार्नु भनेको आफु कम्जोर हुनु हो , डट्नु पर्छ भन्ने आमाको आँखा त्यो दिन सधैभरि रसिलो ओसिलो हुने सिमखेत जस्तो भएका थिए । ” स्मृति , नजाउ बाबा , सजिलो हुन्न । अर्काको देश , न कोही माया गर्ने मान्छे छ , न बिरामी हुँदा पानी तताईदिने कोही छ । झन् तिमी त छोरी मान्छे , पाईला पिच्छे दानव भेटिन्छन्। फ्लाईट क्यान्सिल गर्देउ छोरी । ” ऊ आमाले भनेको यो अवाज नसुनेझै गरि आएकी थिई,सप्तरंगी सपनाहरु सजाउदै , आफ्नो पाइलाहरु चालेकी थिई।

स्मृति एकदम ‘फन लभीङ्ग’ केटी थिई । लाज , सरम जस्ता शब्दहरु उसका अगाडी कहिल्यै आउना सकेनन् । जतिनै दुख, अनि अप्ठ्यारो परिस्थितिमा पनि खुशी हुनु पर्ने उसलाई । तिन बर्ष अगाडीका दिनहरु कति रमाइला थिए, ऊ सम्झिन्छे। बाबा आमाको काख, वरीपरि धेरै माया गर्ने साथीसंगीहरु । आज ऊसंग न त आमाबाबाको काख छ न त ती माया गर्ने साथीसंगीहरु नै छन्।

सयपत्रीको थुङ्गा एउटा हातबाट अर्को हातमा सार्दै , आँसु पुस्छे स्मृति । अनि सम्झिन्छे त्यो कालो रात, जब ऊ बिमारी भएर ओछ्यानमा पल्टिरहेकी थिई । बैंकको डेबिटमात्र हैन क्रेडिट कार्डले पनि उसले जस्तै हाँस्न बिर्सीसकेका थिए । घरको भाड , अस्पतालको खर्च , खाना , ट्रेन भाडा उफ्। स्वास्थ्यले साथ नदिएपछि भएको काम पनि गर्न नसकेर छाडेकी थिई। हरेक दिन टुटेको आत्मविश्वास जोड्ने कोसिस गर्थी ऊ । त्यसमाथि त्यो शनिवार सायद साढे सातको दशा बोकेर आएको थियो ।

उनले आफ्नो मोबाईल बाट नेपाली पसलको दाईलाई फोन गर्दै भनेकी थिई, ” दाई म स्मृति। मलाई अलि सन्चो छैन, मिल्छ भने चामल डेलीभर गर्दिनुसन है ! ” उसले यति भन्न नपाउँदै उत्तर आयो, “ढुक्क हुनु बैनी”। बेलुका मोबाईलको घन्टी बजेसंगै पसलको दाईपनि आईपुग्नुभयो । चामलको बोरा बिसाउन नपाउदै , दाई सरि ल , दुख दिए हजुरलाई भन्दै चिया कफी सोधेकी ऊ एकाएक अत्तालिन थालि, ” दाई छाड्नुस मलाई के गर्नु भाको ! बिन्ति दाई यस्तो नगर्नुस । ” त्यो बिरामी शरीर, घरमा मान्छेको नाममा ऊ मात्र । शरीरमा नभएको बल कसरि निकालिन् होला। मीठो स्वरले बहिनी भन्ने उसको नजर स्मृतीको १९ बर्षे जवानीमाथि पो रहेछ । सकीनसकी छेउको ठोस बस्तुको साहारा लिंदै फुत्केर कोठामा बन्द भई स्मृति । हातहरु लुलो भए अनि खुट्टाले धर्ती छाडेजस्तै लाग्यो उसलाई । बिहान उठ्दा पो थाहा पाई, बेहोस भएर भुइमा लडिरहेकी रहिछ । हतारिदै आफ्नो शरीर छाम्दै अत्तलिएर चिच्याउन थाली ऊ । उसको चिच्याहटमा मात्र आमा थिइन् ।

संसार जित्ने अठोट गर्ने स्मृति अब घर बाट निस्किन डराउने भइ । दु : ख पोखोस पनि कसलाई , माया गर्ने साथीहरु , बाबा आमा सबै छाडेर आएकी जो थिई । यहाँ ऊ हरेकको आँखामा मात्र चाह देख्छे। उसको जवानीको रस पिउने चाह । यहाँ हरेक कोहि स्मृती र स्मृती जस्ताको एक रात चाहन्छन् । स्मृतीकी आमाले भनेजस्तै यो माया हराएको सहर रहेछ । यहाँन त भावनाको कदर छ , न त कसैको आत्मसम्मानको । यहाँ मूल्य छ त केवल पैसा अनि अष्ट्रेलियन पीआरको ।त्यसैले त यहाँ हरेक कोही स्मृतीजस्ताको भावना र आत्मसम्मानलाई पैसा र पीआरले तौलिन्छन् ।

समाजको व्वासोहरुसंग लड्दा लड्दा स्मृतीले अष्ट्रेलियामा ३ बर्ष जान लागेको पत्तै पाईन। आमाले तिमी त झन् छोरी मान्छे भन्दा ह्या फेरि उही कुरा के आमा भन्दै मुन्टो बटार्ने स्मृति आज म छोरा मान्छे भएको भए भनेर सोंच्न बाध्य भएकी छे । अहिले उसको जीवनका खुशीहरुमा डढेलो लागेको छ , मायामा खडेरी परेको छ अनि आत्मविश्वासलाई भेलले बगाएको छ । अहिले ऊसनग न त बाँड्ने बाँड्ने कोही छ नत दुख साट्न नै । गमलाबाट झरेको त्यो सयपत्री फूलको क्षणिक उत्ताउलोपन जस्तै हरेक पिडाले थिचेर उसले २० बर्षमै जीवनमा केहि गर्ने उर्जा गुमाई। कहिले काही , आफ्नो वरिपरि सल्बलाएको व्वासोहरुलाई देख्दा उसलाई दरिलो हात बनाएर गतिलो झापड दिंदै भन्न मन लाग्छ ‘हामी होलसेल को सामान होइन , पिआर र पैसाले मूल्य तोक्न’ । तर फेरि अगाडी बढेका उसका पाइलाहरु गह्रौं हुन्छन् । ऊ आफ्नो आमाको आँखाको आँसु सम्झिन्छे । सोंच्छे , ‘कहिँ कलिलो उमेरमा आफ्नो छोरीले भोगेको पिडा आमालाई असह्य हुने होकी ? ‘।

ऊ अचम्मित हुन्छे, जब उसलाई राती कामबाट घर फर्कदा शंकाको दृस्टीले हेरिन्छ ,अनि राती घरबाट बाहिरिनु गैर कानुनी काम गरेझै सोधिन्छ , ” कहाँ रात बिताएर आएकी ?” उसको मन उकुसमुकुस हुन्छ जब उसले चालेका पाइला पाइला , हाँसेको हाँसो अनि कसैसंग बोलेको मिठो दुई शब्दमा मात्र पिआर र पैसा जस्ता शब्दहरु सुन्छे। किन समाजमा आत्मसम्मानको कुनै मूल्य हुँदैन । सैद्धान्तिक विद्यामा रमिरहेको हाम्रो समाज आखिर कहिले बुझ्नेछ नैतिक शिक्षाको अभाव ? अझैपनि किन हरेक नारिलाई उपभोग्य वस्तुका रुपमा हेरिन्छ अनि दिनप्रतिदिन पैसासंग उसको आत्मसम्मान किनबेच हुन्छ ?

१८ वर्षको कलिलो उमेरमा आफ्नो जन्मभूमि छाडेर आई यति धेरै कुदृष्टी भएका मान्छेबीच अटल रही जीवनमा केहि गर्ने लक्ष्य लिने हरेक नारी बिरंगना हुन् । स्मृति र स्मृति जस्ता हरेक कोही सास रहुन्जेल आफ्नो आत्मसम्मानको लागि लड्छन तर पिआर र पैसाको लागि नैतिकताहिन पुरुषत्व बोकेका तिमी जस्ता पुरुषको कठपुतली हुन कदापी तयार हुदैनन् । र, यो कुरा तिमीमा भरिएको अहंकारी, अनैतिक पुरुषत्वले बुझ्ने बेला आयो।

Comments

comments