चितवन। पूर्वपश्चिम राजमार्ग हुँदै चल्ने ट्रिपरको लागि टाइमकार्ड लागू गरिएको छ । भरतपुरको गोन्द्राङदेखि मकवानपुरको मनहरीसम्मको क्षेत्रमा टाइम कार्डको व्यवस्था गरिएको हो ।

तीव्र गतिमा ट्रिपर चलाउँदा दुर्घटना बढेको र सर्वसाधारणमा समेत ट्रिपरबाट त्रास फैलिएको कारण टाइम कार्डको व्यवस्था गरिएको ट्राफिक प्रहरीले जनाएको छ । भरतपुरदेखि मनहरीसम्मको ४० किलो मिटरको दूरीलाई दुई भागमा विभाजन गरेर टाइमकार्डको व्यवस्था गरिएको हो।

गोन्द्राङदेखि भण्डारासम्मको २० किलोमिटरको दुरी पार गर्नको लागि ४५ मिनेट समय राखिएको ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए। भण्डारादेखि मनहरीसम्मको २० किलोमिटरको दूरी पार गर्नको लागि ३५ मिनेटको समय राखिएको पन्तले बताउनुभयो । गोन्द्राङदेखि भण्डारासम्म बस्ती बढी भएकोले ३० किलोमिटर प्रतिघण्टाको गति राखिएको र मानव बस्ती कम भएको भण्डारादेखि मनहरीसम्मको क्षेत्रमा ३५ किलोमिटर प्रतिघण्टाको गति राखिएको छ ।

टाइमकार्ड लागू गरेपछि दुर्घटना घट्ने प्रहरीको अनुमान छ । गत वर्ष भएका १ सय १५ वटा दुर्घटना मध्य ३० वटा घटना ट्रिपरकै कारण भएका थिए । ट्राफिक प्रहरी कार्यालयले ट्रिपर व्यवसायी समितिको सहकार्यमा टाइमकार्ड लागू गरिएकोले जनाउँदै नियम पालना नगर्ने चालकलाई कारबाही गरिने बताएकाे छ ।

Comments

comments