काठमाडौं । नेत्रहीन विश्वकप क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपाल विजयी भएको छ । यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको नेपालले सोमबार अष्ट्रेलियालाई ८ विकेटले हराएर सान्त्वना जित हात पारेको हो ।

दुबईमा अष्ट्रेलियाले दिएको २ सय ९९ रनको लक्ष्य नेपालले मात्र २ विकेट गुमाएर भेट्टायो । यसअघि भएका ४ वटै खेल हारेर नेपाल प्रतियोगिताबाट बाहिरिइसकेको छ । अष्ट्रेलिया पनि प्रतियोगिताबाट बाहिरिइसकेको छ । भारत, श्रीलंका, पाकिस्तान र बंगलादेश नेत्रहीन विश्वकपको सेमिफाइनमा पुगिसकेका छन् ।

यसैबीच विश्वकप खेल्न रेल र बसमार्फत संघर्ष गरेर पाकिस्तान पुगेको टोली फर्कँदा भने प्लेनमै फर्कने भएको छ । नेपाली क्रिकेट समर्थक समाजले ६ लाख रुपैयाँ आर्थिक सहयोग संकलन गरेपछि उनीहरुलाई प्लेनबाटै काठमाडौं ल्याइने पक्का भएको समाजका अध्यक्ष भानु सिग्देलले जानकारी दिनुभयो ।

कतैबाट सहयोग नपाएको भए नेपाली टोली दुवइबाट पाकिस्तानसम्म प्लेनमा र त्यहाँबाट फेरि रेल र बसमार्फत नै काठमाडौं आउनुपर्ने थियो ।

Comments

comments