पाल्पा । पाल्पाका युवाले गाईपालनबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । दाम र कामको खोजीमा साहुसँग ठूलो ऋण झिकेर खाडी मुलुकमा पुगेका युवाले पशुपालनलाई पछिल्लो समय आम्दानीको बलियो र दिगो माध्यमका रुपमा अपनाएका छन् ।

रामपुरका गणेश आचार्यले तीन वर्ष खाडीमा समय बिताएर गाउँमै फर्की गाईपालन व्यवसाय थालेका छन्। जर्सी र होलस्टिन जातका गाई पालेर आचार्यले मासिक रुपमा ६० हजार रुपैयाँ बचत गर्ने गरेका छन् ।

सोही ठाँउका ज्ञानराज पोखरेललाई पनि विदेशबाट फर्केपछि आम्दानीको बाटो गाईपालन व्यवसाय बनेको छ । विदेशमा गई पैसा प्रशस्त कमाउने र परिवारलाई सुख सुविधाका साथ लालनपालन गर्ने सोच राख्नुभएका पोखरेलले सोचे अनुसारको कमाइ नभएपछि स्वदेश फर्की गाईपालन व्यवसाय थालनी गरेका हुन् ।

तीन वर्ष साउदीमा पसिना बगाएर स्वदेश फर्किएका पोखरेल अहिले रामपुरकै नमूना व्यवसायीका रुपमा चिनिन थालेका छन्। हाल उनको फार्ममा १२ वटा उन्नत जातका गाई रहेका छन् । अहिले दैनिक ५० लिटर दूध उत्पादन गरेर मासिक ५० हजार रुपैयाँ भन्दा बढी आम्दानी गर्ने गरेको पोखरेल बताउछन् ।

उनले भने, “घरमै बसेर खर्च कटाएर मासिक रु ५० हजारजति आम्दानी हुन्छ, विदेशमा वर्षको रु एक लाख पनि कमाइ हुन्न, विदेश जानुअघि धेरै इच्छा, आशा मनमा हुन्छ, गएपछि सबै सपना खाडीमा विहीन हुन्छन् ।”

बौघा पोखरा थोकका कृषक रुकबहादुर रेश्मी पनि दुई वर्षसम्म बहराइन बसे। विदेशबाट फर्के लगत्तै गाईफार्म खोलेका रेश्मीले दूध बेचेर मासिक एक लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्ने गरेका छन् ।

विदेशमा यथेष्ट कमाइ गर्ने र परिवारलाई सुखसँग पाल्ने रेश्मीको सपना गाईपालन व्यवसायबाट पूरा भएको छ । “घरमै बसेर व्यवसाय गरियो भने पर्याप्त कमाउन सकिने रहेछ भन्ने अहिले चेतना जागेको छ”,उनले भने ।

जिल्लामा अहिले विदेश गएर फर्केका र विदेश जान लागेका १३० भन्दा बढी युवाले व्यावसायिक पशुपालनबाट मनग्य आम्दानी गरेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।

कार्यालयले व्यावसायिक पशुपालनमा युवाको आकर्षण बढाउन युवालक्षित कार्यक्रम अन्तर्गत अनुदान रकम, चापकटर मेशिन, भकारो सुधार, गोठ निर्माण, निःशुल्क घाँसको बीउ, औषधि उपचारजस्ता सेवा उपलब्ध गराएपछि जिल्लामा पशुपालनमा युवाको आकर्षण बढेको पशु चिकित्सक उत्तम आचार्यले जानकारी दिए ।

Comments

comments