झापा । सामाजिक कार्यमा सक्रिय कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ ब्ल्यांकेट वितरण गर्न आफ्नो गृह जिल्ला झापा आइपुगेका छन् ।

बारा जिल्लाबाट न्यानो कपडा वितरण अभियान सुरु गरेका धुर्मुस अभियानको १५औँ दिन झापा आइपुगेका हुन् । उनले बिर्तामोड नगरपालिकाको–८ स्थित गरामनीको सन्थाल बस्तीमा दुई सय जनालाई ब्ल्यांकेट वितरण गरे ।

धुर्मुससँगै अर्का हाँस्य कलाकार जितु नेपाल पनि झापा आएका छन् । धुर्मुस ब्ल्यांकेट लिएर आउने थाहा पाएपछि गरामनीको सन्थाल बस्तीका स्थानीय बिहानैदेखि उनको प्रतिक्षामा लाम लागेर बसेका थिए । उनीहरुमध्ये अधिकांशको खुट्टा खाली थियो ।

कलाकार धुर्मुस ब्ल्यांकेट लिएर बस्तीमा पुगेपछि स्थानीय जनप्रतिनिधिहरु समेत बस्तीमा पुगेका थिए । धुर्मुसले लगेको ब्ल्यांकेट जनप्रतिनिधिले समेतसँगै वितरण गरेका थिए । जाडोबाट प्रभावितस्थानी भने धुर्मुसकै हातबाट ब्यांकेट लिन र उनलाई छुन चाहन्थे ।
बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतारा प्रसाईंले चिसोबाट प्रभावित नागरिकका लागि तत्काल नगरपालिकासँग कुनै योजना नरहेको बताइन् ।

Comments

comments