मेलबर्न । अष्ट्रेलिया आएका नेपालीहरु निश्चित काममा मात्र सक्रिय छैनन् । उनीहरु यहाँको व्यस्त जीवनशैलीबाट समेत समय निकाली विभिन्न सामाजिक तथा अतिरिक्त क्रियाकलापहरुमा समेत सक्रिय छन् । पश्चिम क्षेत्रमा बस्ने यस्तै सक्रिय नेपालीहरुले सन् २०१२ मा स्थापना गरेका थिए, ‘एभरेष्ट युनाइटेड क्लब’।

नेपालीहरुबीच सम्बन्ध विस्तार साथै स्वस्थ जीवनशैलीको प्रबर्द्धन गर्ने उद्देश्यले खोलिएको यो क्लबले अहिले विस्तारित रुप लिएको छ । हाल यस क्लबमा नेपालीहरु मात्र नभई, अरु देशको पृष्ठभूमि भएका व्यक्तिहरु समेत आबद्ध भएका छन् ।

 

सदस्यताको विस्तारसंगै एभरेष्ट युनाइटेडले आफ्नो कार्य क्षेत्रको समेत विस्तार गरेको छ । हाल यस क्लबमा खेलकुद कार्यक्रम, सामाजिक अभियान तथा कार्यक्रम, विचार विमर्श आदि कार्यक्रम हुने गर्छन् । क्लबले विभिन्न विपतको समयमा राहत संकलन कार्यक्रमहरु समेत गरेको छ ।

कुनै संघ संस्थाको जस्तो निश्चित सेवा नभई बहुसांस्कृतिक समुदायको एकता र स्वस्थ तथा सकारात्मक समाज निर्माणको पहल चालेको यस क्लबमा जोकोही व्यक्तिले सदस्यता लिन सक्छन् ।

आफ्नो कामलाई अझ विस्तार गर्न तथा प्रभावकारी बनाउनको लागि र नयाँ पुस्तालाई सामाजिक तथा खेलकुद क्षेत्रमा सक्रिय बनाउनको लागि यस क्लबले बालबालिकाहरुको लागि खेलकुद तथा अन्य कार्यक्रमहरु ल्याउने योजना बनाएको छ ।

Comments

comments