वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई कोरियाबीचको उच्चस्तरीय वार्ताले सम्बन्ध सुधारको लागि राम्रो उर्जा दिएको बताएका छन् । दक्षिण कोरिया र उत्तर कोरियाबीच मंगलबार उच्चस्तरीय वार्ता भएको थियो ।

राष्ट्रपति ट्रम्पले दुई मुलुकबीचको वार्ताले सकारात्मक फाइदा लिँदै अगाडि बढ्न र आगामी दिनमा सौहार्द रुपमा वार्ताको माध्यमबाटै सबै समस्याको समाधान गर्ने मार्गमा लाग्न आग्रह गरेका छन् । यो वार्तापछि वातावरण निर्माण भएकाले सम्बन्ध सुधारका लागि थप केही गर्नुपर्नेमा दक्षिण कोरियाली राष्ट्रपति इनलाई पनि राष्ट्रपति ट्रम्पले आग्रह समेत गरेका छन् ।

मङ्गलबारको वार्तापछि उत्तर कोरियाले दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलमा आफ्ना खेलाडी र प्रतिनिधिहरू पठाउने भएको जनाएको छ । दुई वर्षपछि भएको भए पनि मङ्गलबारको वार्तापछि यी दुई देशको सम्बन्धमा सुधार आएको बताइएको छ ।

मङ्गलबार भएको छलफलमा विशेषगरी यसै खेलकूदका विषयमा बढी कुराकानी भएको थियो । छलफलका विषयवस्तुहरुको सीमितता रहेको दक्षिण कोरियाको भनाई छ ।

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणका बारेमा पनि सो वार्तामा प्रसंग उठेको बताइएको छ । तर यस विषयमा कुनै सहमति हुने वा केही एजेण्डा पास हुने काम भने भएको छैन ।

यसैबीच प्राप्त अर्को समाचार अनुसार दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले आफू उत्तर कोरियाली नेतासँग भेटेर कोरियाको आन्तरिक विषयमा वार्ता गर्न तयार रहेको बताएका छन्। राष्ट्रपति इनले हाल कोरियाली प्रायद्वीपमा देखिएको समस्या समाधानका लागि तथा दुई कोरियाबीचको सम्बन्धमा सुधारका लागि भेटघाट र वार्ता गर्नुपर्ने बताए । त्यसका लागि हामी तयार छौं उनले भने ।

उनले दुई वर्षपछि भए पनि वार्ताको वातावरण बन्नु र वार्ता हुनु निकै महत्वपूर्ण कुरा हो भन्दै यसबाट अब आगामी दिनमा दुवै कोरिया र कोरियाली प्रायद्वीपमा सहज वातावरण निर्माणका लागि आफूहरु तयार रहेको धारणा राखे।

गत वर्षमात्र दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित मुनले नयाँ वर्षका अवसरमा अर्थात् गत जनवरी १ मा दिएको शुभकामना सन्देशमा सम्बन्ध सुधारका लागि कोरियाली सम्मेलन कोरिया समिटको आयोजना गर्न सुझाव दिए ।

साथै उत्तर कोरियाली नेता किम जोङ उनले पनि नयाँ वर्षको सोही सम्बोधनको क्रममा आफूहरु दक्षिण कोरियाको प्रस्तावमा वार्तागर्न तयार रहेको प्रतिक्रिया दिए ।

त्यसै बमोजिम विकसित परिस्थिति अनुसार उत्तर र दक्षिण कोरियाको वार्ता सम्भव भएको थियो । सो वार्तालाई निरन्तरता दिन र कोरियाली प्रायद्वीपमा जारी तनावपूर्ण अवस्थाको सुधार गर्न संयुक्त राष्ट्रसंघले पनि आग्रह गरेको छ । रासस-सिन्ह्वा

Comments

comments